काठमाडौं– नेपाल ब्युटिसियन संघले अध्यागमन विभागका एकजना कर्मचारी बन्दना कर्णले पदीय अधिकार दुरुपयोग गरी व्यवसायीलाई दुःख दिएको र व्यवसाय नै बन्द गराउन खोजेको गुनासो गरेको छ । कर्णले संघका आजीवन सदस्य तथा फेसियल हाउस प्रालिका सञ्चालक सुष्मा महरालाई झुटा मुद्दामा पक्राउ गराउन खोजेको भन्दै संघले एक विज्ञप्तिमार्फत सोको निन्दा गरेको छ ।
संघको विज्ञप्ति अनुसार गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागमा कार्यरत बन्दना कर्ण केही दिनअघि काठमाडौंको केएल टावरस्थित महराको फेसियल हाउसमा सेवा लिन पुगेकी थिइन् । उनले त्यहाँ खुला रुपमा राखिएको सिसिटिभीले आफ्नो गोपनीयतामाथि आँच आएको भनी महानगरीय प्रहरी वृत गौशालामा उजुरी दिइन् ।
प्रहरीले सो सम्बन्धमा अनुसन्धान गर्दा कर्णले आरोप लगाए जस्तो आपराधिक कार्य भएको नदेखिएको भन्दै गत असार २८ गते दुवैलाई बोलाएर लिखित सहमति गराएको विज्ञप्तिमा उल्लेख छ । यति भइसकेपछि पनि कर्णले महराको ब्युटी पार्लरमा गैरकानुनी काम हुने गरको भ्रामक प्रचार गर्नुका साथै पदीय अधिकार दुरुपयोग गरी गृह मन्त्रालय, गृहसचिव तथा महानगरीय प्रहरी परिसार, टेकुलाई समेत प्रभावमा पारी महरालाई पुनः झुटो मुद्दामा फसाउन खोजेको भन्दै संघले आपत्ति जनाएको छ ।
नियमानुसारको प्रक्रिया पूरा गरी कानुनबमोजिम ब्युटीसियन व्यवसाय गरिरहेकी महरालाई सुनियोजित रुपमा हैरानी दिन र उनको व्यवसाय नै बन्द गराउन कर्णले राज्यशक्तिको चरम दुरुपयोग गरेको संघको गुनासो छ । संघले जारी गरेको विज्ञप्तिमा कर्णको गैरकानुनी क्रियाकलापलाई अविलम्ब रोकी कानुन हातमा लिन खोज्ने उनलाई तत्कालै निलम्बन गरी पदीय आचरणको दुरुपयोगमा हदैसम्मको कारबाही गर्न संघले माग गरेको छ ।
पदीय अधिकार दुरुपयोग गर्ने कर्णलाई कारबाही र व्यावसायिक अधिकार संरक्षणको माग गर्दै संघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललगायत अन्य सम्बद्ध अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएको छ ।









