काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले वार्षिक १२.१२ प्रतिशत ब्याजदरमा कर्जा दिने योजना सार्वजनिक गरेको छ । बैंकले आवासीय घर निर्माणको लागि आवास कर्जा, साना तथा मझौला व्यवसायअन्तर्गत सरल व्यापार कर्जा र विद्युतीय सवारीसाधन खरिद गर्दा १२.१२ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।

बैंकका अनुसार आवासीय घर निर्माणको लागि कर्जा लिँदा अधिकतम ३० वर्षको लागि डेढ करोड रुपैयाँको सीमाभित्र रहने गरी धितो मूल्यांकित रकमको ६० प्रतिशतसम्म कर्जा लिन पाइने व्यवस्था राखिएको छ । सरल व्यापार कर्जामा धितो मूल्यांकित रकमको ८० प्रतिशतसम्म मासिक ब्याजमात्र तिर्ने वा मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी कर्जा उपलब्ध हुने बैंकले जनाएको छ ।

त्यसैगरी, विद्युतीय सवारीसाधन खरिदमा खरिद मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले बताए । नायब प्रमुख कार्यकारी अधिकृत दाहालका अनुसार बैंकले प्रवाह गर्ने यी कर्जा सम्पूर्ण कागजात पेस गरेको ३ दिनभित्रै स्वीकृत हुनेछ ।

कम ब्याजदरमा यो कर्जा सुविधा उपलब्ध गराई आफ्नो ग्राहकलाई सशक्त बनाउने लक्ष्य रहेको बैंकले जनाएको छ । पछिल्लो समय विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै गएको र सोहीअनुरूप आफ्ना ग्राहकको माग पूरा गर्न समेत आफ्ना देशव्यापी शाखाबाट सहज रूपमा कर्जा उपलब्ध गराउने भएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय