काठमाडौं– मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन् । यस्तोमा कोदोमा पनि हामी भारतमाथी नै निर्भर हुनुपर्ने अवस्था आएको हो ।

आर्थिक वर्ष २०७९–८० मा पूर्वीनाका काँकडभिट्टा भएर ५१ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको कोदो भारतबाट आयात भएको तथ्यांक छ । काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार सो अवधिमा १६ हजार ३५ मेट्रिक टन कोदो आयात गरिएको छ ।

यसैगरी गाउँघरमा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानले गाईभैंसीलाई खोले पकाएर खुवाउने गरेको अवस्थामा त्यही फर्सी भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार आर्थिक वर्ष २०७९–८० मा भारतबाट ७ करोड ५७ लाख २८ हजार मूल्यको ४ हजार ७३३ मेट्रिक टन फर्सी आयात गरिएको छ ।

यसबाहेक फापर, खुर्सानी, घिरौंला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका वस्तु भारतबाट आयात गर्ने गरिएको छ । गत आवमा १९ करोड ८३ लाखको १२ हजार ३९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ । सोही अवधिमा ३१ करोड ९८ लाख बराबरको १९ हजार ९८८ मेट्रिक टन करेला, १८ करोड ७४ लाख ७२ हजारको ११ हजार ७१७ मेट्रिक टन भिन्डी र ८ करोड ९६ लाख ८० हजार बराबरको ५ हजार ६०५ मेट्रिक टन सिमी भारतबाट आयात गरिएको ठाकुरले जानकारी दिए ।

पूर्वीनाकाबाट सोही अवधिमा ८० करोड ९९ लाख ८४ हजारको २५ हजार ३१२ मेट्रिक टन प्याज, ६० करोड ८१ लाख ६० हजार बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेडा, २ करोड ७१ लाख ५२ हजारको १ हजार ६९७ मेट्रिक टन घिरौंला, ४ करोड ९८ लाखको ३ हजार ११३ मेट्रिक टन लौका, ३ करोड १० लाख बराबरको १ हजार ९३८ मेट्रिक टन तरुल र ३ करोड ४० लाख ९६ हजार रुपैयाँको २ हजार १३१ मेट्रिक टन सुठुनी भारतबाट आयात गरिएको तथ्यांक छ ।

सूचना अधिकारी ठाकुरका अनुसार गत आवमा ४४ लाख ८० हजारको ११२ मेट्रिक टन फापर, ६ करोड ६६ लाख ६६ हजार बराबरको २ हजार ८३ मेट्रिक टन अम्बक र ३४ लाखको पानको पात भारतबाट आयात भएको छ । कार्यालयका अनुसार सोही अवधिमा १७ करोड ३१ लाख २० हजारको ४ हजार ३२८ मेट्रिक टन चामल र १७ करोड २८ लाख २४ हजार बराबरको ७ हजार २०१ मेट्रिक टन तरबुजा समेत भारतबाट आयात गरिएको छ ।

पूर्वी नाका काँकडभिट्टाबाट गत आवमा ६ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात गरिएको छ । ३ अर्ब ३५ करोड ९ लाख ८१ हजारको ताजा तरकारी र २ अर्ब ९४ करोड ८१ लाख ६८ हजार रुपैयाँको फलफूल आयात गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानले उत्पादन गर्दै आएको तरकारी बाली बजारमा बिक्री नभएको मेचीनगरको महालक्ष्मी कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष दुर्गा खतिवडाले बताए । संस्थाले जग्गा भाडामा लिएर सञ्चालन गरेको कृषि फार्ममा उत्पादन भएको भिन्डीले उचित बजारभाउ नपाएपछि घाटा सहेर अतिकम मूल्यमा बिचौलियालाई बेच्नुपरेको उनको भनाइ छ । इलाम नगरपालिका–१२ की तुलसा रायाले करिब १ ट्रक फर्सी बिक्री नभएपछि गाईवस्तुलाई खोले खुवाएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय