तनहुँ– आन्तरिक राजस्व कार्यालय दमौलीले आयकर, मूल्य अभिवृद्विकर र अन्तःशुल्कतर्फको कर नबुझाएका व्यावसायिक, फर्मको बैंक खाता रोक्का गरेको छ । गोरखा, लमजुङ र तनहुँमा सञ्चालित ४७ व्यावसायिक फर्मको खाता रोक्का गरेको हो ।
कार्यालयले गत वैशाख ५ गते पहिलो पटक सूचना प्रकाशित गरी १५ दिनभित्र बक्यौता रकम दाखिला गर्न अनुरोध गरेको कार्यालयका निमित्त प्रमुख लोकेन्द्र राईले जानकारी दिए । व्यवसायीको आम्दानीको स्रोत खोजी गरी बक्यौता रकम दाखिला गराउने अभियानमा कार्यालय लागेको पनि उनले बताए ।
उक्त कार्यबाट पनि बक्यौता रकम दाखिला गराउन नसके निजको चलअचल सम्पत्ति रोक्का गर्न सकिने प्रावधान रहेको जानकारी दिँदै राईले सोहीअनुरुप बैंक खाता रोक्का गरिएको बताए । उनका अनुसार तनहुँमा २८, लमजुङमा १३ र गोरखामा ६ फर्मको कर बक्यौता छ ।
१० अर्ब बढी राजस्व संकलन
आर्थिक वर्ष २०७९–८० मा १० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय दमौलीले जनाएको छ । ११ अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य राखे पनि लक्ष्य अनुरुप संकलन नभएको कार्यालयका कर अधिकृत एवं सूचना अधिकारी टीकाराम पौडेलले जानकारी दिए ।
आर्थिक वर्ष २०७८–७९ मा ९ अर्ब संकलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी असुल्न सफल भएको उनले बताए । उनका अनुसार उक्त वर्ष ९ अर्ब २४ करोड राजस्व संकलन भएको थियो ।
७२ हजार बढी करदाता
उक्त कार्यालयमा ७२ हजार ४४७ करदाता रहेका छन् । गत वर्षको तुलनामा करिब १० प्रतिशतका दरले करदाता वृद्धि भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । पछिल्ला समय नागरिकमा पान नम्बर लिएर मात्रै कारोबार गर्नुपर्छ भन्ने चेतनाको बढेकाले करदाताको संख्या बढेको कार्यालयले जनाएको छ ।









