काठमाडौं– नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीका सञ्चालकहरुले आफ्नो स्वामित्वमा भएको शेयर पदबाट हटेको एक वर्षसम्म बिक्री गर्न नपाउने धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाबारे नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ । चेम्बरले यस विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराउँदै धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अव्यावहारिक र व्यवसायीलाई मर्कामा पार्ने खालको रहेको बताएको छ ।

चेम्बरको प्रतिनिधिमण्डलले आइतबार महतलाई भेटेर ध्यानाकर्षण पत्र पनि बुझाएको छ । पत्रमा भनिएको छ, ‘धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत एवं संगठित संस्थाको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ मा उल्लेखित ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिदबिक्री गर्न नपाउने’ व्यवस्था व्यवसाय अनुकूल छैन, ।’

कुनै पनि व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्योग व्यवसायको विविधीकरण र विस्तारमा समेत असर गर्ने चेम्बरले जनाएको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले धितोपत्र बोर्डको पछिल्लो निर्णयले कतिपय अवस्थामा घरायसी कार्यमा समेत अवरोध आउन सक्ने भएकाले सच्याउने पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए । बोर्डको निर्णयले व्यवसायी मर्कामा पर्ने अध्यक्ष मल्लको भनाइ छ ।

सञ्चालकले आफ्नो स्वामित्वमा भएको सेयरलाई पदबाट हटेको एक वर्षसम्म पनि बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी जुनसुकै समय बिक्री गर्न पाउने व्यवस्था गर्न चेम्बरले अग्रह गरेको छ । बोर्डले गरेको व्यवस्था भारत लगायत अन्य कुनै पनि राष्ट्रमा प्रचलनमा नरहेको अध्यक्ष मल्लको भनाइ छ ।

आफूसँग भएको सेयरको कम्तीमा ५० प्रतिशत हिस्सा बिक्री गर्ने व्यवस्था मिलाउनका लागि पहल गर्न पनि चेम्बरले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय