काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गरेका छन् । उनले आज एक कार्यक्रमबीच निर्वाचन क्षेत्र विशेष कार्यक्रमको घोषणा गरेका हुन् ।
घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा आजैबाट निःशुल्क सञ्चालन गर्ने उल्लेख गरेका छन् । पार्टी झण्डाको जस्तै निलो रङको बसलाई ‘ब्लु बस’ भनिएको छ ।
बसमा महिला मात्र चढ्न पाउनेछन् । बस चितवन क्षेत्र नं २ का सहरी क्षेत्रमा सञ्चालनमा आउनेछ । बस चढ्नेहरुका लागि कार्ड वितरण गरिनेछ । बसभित्र महिलाका लागि अत्यावश्यक सामग्रीसँगै सांसद लामिछानेलाई चिठ्ठी राख्ने ठाउँको व्यवस्था हुनेछ । लामिछानेले निर्वाचनको समयमा गरेको घोषणा बमोजिम विदेशमा रहेका सय जनालाई नेपालमा रोजगारीको घोषणा गरेका छन् । उनीहरुलाई मासिक ४० हजारदेखि १ लाख ५० हजारसम्मको तलबको व्यवस्था हुने छ ।
लामिछानेले हरेक चार–चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने भन्दै पहिलो कार्यक्रम आगामी भदौ १० गतेका लागि घोषणा गरेका छन् । ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको छ । त्यसमा मेडिकल अधिकृतसहितको स्वास्थ्यकर्मीको समूहले घरमा नै पुगेर सेवा दिनेछ । थप उपचार आवश्यक परेमा परामर्श गरी अस्पताल पठाउने व्यवस्था मिलाइने भएको छ ।
उनले स्वास्थ्य चितवन अभियानअन्तर्गत आफ्नो क्षेत्रका विपन्न नागरिकलाई ५ लाख बराबरको स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिने बताए । पहिलो चरणमा सय जनालाई समावेश गरिने छ ।
लामिछानेले पहिलो चरणमा दुई विद्यालयका कक्षा ११ र १२ लाई नमुना विद्यालयका रुपमा विकास गर्ने बताएका छन् । भरतपुर महानगरपालिकाको रामनगर मावि र कालिका नगरपालिकाको चतुर्मुखी माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीलाई पहिलो चरणमा उत्कृष्ट शिक्षा दिएर ती दुई विद्यालय नमुना बनाइनेछ । यससँगै अन्य कक्षा र अरु विद्यालय नमुना बनाउँदै लगिने छ । उनले इच्छाकामनाको भाराङ्को आधारभूत विद्यालयलाई नमुना शैक्षिक संस्थाका रुपमा विकास गरी आवासीय विद्यालय बनाउन सुरु गरिएको जानकारी दिए ।
कार्यक्रमको घोषणाका क्रममा नारायणगढ–मुग्लिन सडकमा वर्षातको समयमा यात्रुले दुःख पाउने गरेको भन्दै उनले २० जनाको स्वयमसेवी समूह (आरएटी) परिचालन गरिने बताए । बर्खाको समयमा मात्र यो र्यापिड एक्सन टिम परिचालन हुने छ ।
उनकै कार्यक्रममा आफूले प्राप्त गरेको मत ५४ हजार १ सय ७४ बराबर फलफूल र अन्यका बिरुवा निर्वाचन क्षेत्रमा रोपिने जनाइएको छ । मतदाताको सम्मानमा ‘एक मत एक बिरुवा’ रोप्न लागिएको हो । कार्यक्रमका लागि आवश्यक बजेट जुटाउन चितवन क्लब गठन गरिने छ ।
क्लबमा विदेशमा रहेका चितवनवासीलाई समावेश गरेर आर्थिक सहयोग जुटाइने उनले बताए । लामिछानेले आजै भरतपुरको बसेनीमा सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ । कार्यालयमा प्रमुख कार्यकारी अधिकृतका रुपमा हेमन्त बराललाई नियुक्त गरिएको छ । कार्यालयको लामिछानेसहित पार्टीका नेताले घण्टी बजाएर उद्घाटन गरे । लामिछाने पहिलोपटक निर्वाचित भएपछि नागरिकताको विवादका कारण सर्वोच्चको फैसलासँगै पद रिक्त भएको थियो । उपनिर्वाचन भएर दोस्रो पटक निर्वाचित भएको आज सय दिन पुगेको हो ।









