काठमाडौं– ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका तीन पूर्वमन्त्रीलाई पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार पूर्वउपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छेदार र दुई पूर्वभूमिसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
सर्वोच्च अदालतले आइतबार ललिता निवास प्रकरणका मुख्य निर्णयकर्ता समेतलाई अनुसन्धानको दायरा ल्याउन सरकारलाई आदेश दिएको थियो । आदेश आएकै दिन जिल्ला अदालतले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।
गच्छेदारले र श्रेष्ठले प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको सरकारी निवास विस्तारका लागि ललिता निवासको जग्गामा नक्कली मोही खडा गर्ने र नक्कली मोहीलाई सट्टा भर्ना दिने प्रस्ताव मन्त्रपरिषद्मा लगेका थिए । जोशीले भूमिसुधार मन्त्री हुँदा ललिता निवासको सरकारी जग्गा टिकिन्छा गुठीका नाममा लैजाने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए ।









