म्याग्दी– मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान आइतबार राति ८ बजे खाना खाने तयारी गर्दै थिए ।
कालीगण्डकी र कागखोलाको दोभान नजिकै विद्यालयको छात्रावासमा बस्ने शिक्षक, विद्यार्थी र स्थानीयवासीबीच बाढी आएको सूचना पाएपछि भागाभाग मच्चिएको थियो । ‘खाना खाने तयारी गर्दै थियौं । बाढी आएको थाहा पाएपछि ज्यान बचाउन पकाएको खाना छाडेर अन्यत्र गएर बस्यौं,’ उनले भने, ‘यहाँका बूढापाका हिजो र अस्ती अहिलेसम्मकै ठूलो बर्सात भएको अनुभव सुनाउँछन् ।’

कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी प्रसिद्ध तीर्थस्थल र पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेर बितण्डा मच्चाएको हो । मुक्तिनाथबाट सुरु हुने कागखोला कागबेनीमा आएर कालीगण्डकीमा मिसिन्छ ।

कागबेनीकी कल्पना मगर बाढी आएको सूचना पाएपछि भागेर ज्यान बचाउन सफल भए पनि घरवासविहीन हुनुपरेकोमा दुःखी छन् । ‘कागबेनीमा सबैको ज्यान बचेकोमा सुखी मान्नुपर्छ,’ उनले भनिन्, ‘ज्यान त बच्यो तर हाम्रो घरवास केही रहेन ।’

गाउँपालिकाको केन्द्रसमेत रहेको कागबेनीमा बाढी पसेर भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले खोलाको छेउछाउमा रहेको २० भन्दा बढी घर–होटल बाढीले भत्काएको बताए ।

‘कागबेनीका धेरैजसो घरभित्र बाढी पसेको छ । क्षतिको विवरण संकलन भइरहेको छ,’ उनले भने, ‘रातभर विस्थापितको व्यवस्थानमा लाग्यौं । बिहानदेखि क्षतिको विवरण संकलन र थप क्षति हुन नदिन बाढी नियन्त्रणको काम भइरहेको छ ।’

कागबेनीको प्रहरी चौकीमा बाढीले क्षति पुर्याएपछि सुरक्षाकर्मीलाई गाउँपालिकाको कार्यालयमा राखिएको छ । प्रहरी चौकीका हतियार र सामग्री भने सुरक्षित रहेका छन् । कागबेनीको बीच भाग भएर कागखोला बग्छ ।

बस्तीभित्र कागखोला वारपार गर्न बनाइएका तीन वटा मान्छे हिँड्ने पक्की पुल बाढीले बगाएको छ । जोमसोम–कोरला सडक अन्तरगत कागबेनीमा निर्माणको अन्तिम चरणमा रहेको मोटरेबल पुल बगाएको छ ।

पुलको सल्याब बाढीले बगाएर केही तल पुर्याएको छ । पुलसँग जोड्ने पहुँचमार्ग बगाएको छ । कागबेनी हँुदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको सदरमुकाम जोमसोमसँग यातायात सम्पर्कविच्छेद भएको हो ।

बिजुलीका पोल पनि बाढीले बगाएकाले विद्युत् सुविधा अवरुद्ध भएको छ । पार्किङ गरेर राखेका गाडी पनि बाढीले बगाएको र पुरिएको बताइएको छ । कागबेनीमा हिन्दुले पितृलाई तर्पण दिने ठाउँ बगाएको छ । भक्तजनले आवासका रुपमा प्रयोग गर्ने तीर्थयात्री निवासमा बाढी पसेको छ ।

नदी कटान नियन्त्रण गर्न बनाइएको पक्की संरचना र ग्याबियन पर्खाल बाढीले बगाएको छ । कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुनबाट जोगिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।

बस्तीभित्र बाढी पसेर हिलाम्मे बनेको छ । जोमसोमबाट गएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् । पाण्डा खोलाको बाढीले सुरक्षाकर्मीलाई जोमसोमबाट कागबेनी पुग्न समस्या भएको छ ।

प्रमुख जिल्ला अधिकारी अनुप केसीले कागबेनीमा विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसिरहेको बताए । क्षतिको विवरण संकलन, थप क्षति हुन नदिन गर्नुपर्ने काम, अवरुद्ध सडक, विद्युत् सुविधा आपूर्ति गराउने विषयमा बैठकमा छलफल भइरहेको उनले बताए ।

दुई दिनदेखि मुस्ताङमा लगातार पानी परिरहेको छ । स्थानीयवासीका अनुसार यसअघिको वर्ष मुस्ताङमा यसपालिजस्तो धेरै र ठूलो वर्षा भएको थिएन् । बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि पानीको सतह बढेको छ । मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५.८ मिलिमिटर वर्षा मापन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय