काठमाडौं– चौधरी ग्रुपका अध्यक्ष एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई एसियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफ दी इयर २०२३’ बाट सम्मान गर्ने भएको छ । दुबईस्थित म्युजियम अफ दी फ्युचर भवनमा अक्टोबर ७ तारिखमा उक्त अवार्डका पूर्वविजेता, सेलिब्रेटी र प्रतिष्ठित अतिथीहरूबीच हुने एक भव्य समारोहमा चौधरीलाई सम्मान गर्ने कार्यक्रम रहेको चौधरी ग्रुपले जानकारी दिएको छ ।

एसियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाजसेवामा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्दै आएको छ । यस अवार्डबाट यसअघि आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकर, सर वेन किङ्स्ले, ब्रुसली, सचिन तेन्दुलकर, ज्याक मा, मदर टेरेसा, फ्रेडी मर्करी, अभिनेता ज्याकी च्यानलगायत सम्मानित भएका छन् ।

नेपालका एक मात्र फोब्र्समा सूचीकृत अर्बपति उद्योगी एवं समाजसेवी चौधरीले फाउन्डेसनमार्फत नेपालमा प्रभावकारी रुपमा सामाजिक कार्य गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । नेपालमा सन् २०१५ मा गएको महाभूकम्पका समयमा भूकम्पपीडितका लागि करिब तीन हजार घर बनाएर भूकम्पबाट अत्यन्तै प्रभावित १० जिल्लाका पीडितलाई हस्तान्तरण गरेका थिए । त्यस्तै, चौधरी फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६१ ओटा पक्की घर निर्माण गरेको थियो । भूकम्पका बेलामा गरेको योगदानमाथि फोब्र्स एसियाले विनोद चौधरीको कभर स्टोरी छापेको थियो ।

विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी फाउन्डेसनले सन् २०१९ मा सुरु भएको कोभिड महामारीपश्चात कोभिड प्रभावित सर्वसाधारण नेपाली नागरिकको उपचारलाई सहज बनाउन वीर अस्पतालमा १८ बेडको आईसीयू निर्माण गरी सञ्चालनमा ल्याएको थियो । कोभिड महामारीको समयमा आईसियू बेडको अभावमा उपचार गर्न नपाएका सर्वसाधारण नागरिकका लागि उक्त वार्ड निर्माणले ठूलो राहत पुगेको थियो ।

फाउन्डेसनले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड (इमर्जेन्सी वार्ड) निर्माण गरी हस्तान्तरण गरेको थियो । त्यस्तै, चौधरी फाउन्डेसनले सरकारलाई पिसिआर रिएजेन्ट र भेन्टिलेटरहरू पनि सहयोग गरेको थियो । अहिले चौधरी फाउण्डेसन नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्थानीय अस्पतालको गुणस्तर अभिवृद्धि गरी स्थानीय नागरिकले घर नजिकै गुणस्तरीय सेवा पाउने वातावरण बनाउन लागिरहेको छ ।

चौधरी फाउन्डेसनले शिक्षा, स्वास्थ्य, विपत् व्यवस्थापन, उद्यमशिलता विकास, सीप र जीविकोपार्जन, महिला सशक्तीकरण,आध्यात्मिक एवं सम्पदा संरक्षण क्षेत्रमा काम गर्दै आएको छ ।

चौधरी एक सफल नेपाली उद्योगी, लेखक, राजनीतिज्ञ तथा समाजसेवी हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरी नवलपरासी पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त चौधरीको आत्मकथा विश्वका विभिन्न सात भाषामा प्रकाशित छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय