काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडको सातौं वार्षिक साधारणसभा बिहीबार, क्यापिटलको रजिस्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा सम्पन्न भएको छ । सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८० असार मसान्तसम्मको वासलात, नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ४६ प्रतिशत (कर सहित) का दरले हुन आउने ९ करोड २० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
सभामा क्यापिटलका अध्यक्ष सन्तोषकुमार राठीले आर्थिक वर्ष २०७९–८० मा १० करोड ४२ लाख रुपैयाा भन्दा बढी खुद मुनाफा आर्जन गरी प्रतिशेयर आम्दानी ५२.११ रुपैयाँ कायम गरी सञ्चालनमा रहेका मर्चेन्ट बैंकहरुमध्ये खुद मुनाफा तथा प्रतिसेयर आम्दानीको आधारमा पहिलो स्थान हासिल गर्न सफल भएको सभालाई जानकारी गराए ।
उनले क्यापिटल स्थापना भएको ६ वर्ष ४ महिनामा हाल सञ्चालनमा रहेका २५ वटा मर्चेन्ट बैंकमध्ये निक्षेप सदस्य सेवा अन्तर्गत ६ लाख ६७ हजार डिम्याट खाता खोली पहिलो स्थान, म्युचुअल फन्ड सेवा अन्तर्गत एउटा खुलामुखी योजना सहित ५ वटा योजना सञ्चालन गरी म्युचुअल फण्डको संख्या तथा व्यवस्थापन गरेको रकमको आधारमा तेस्रो स्थान र लगानी व्यवस्थापन सेवा अन्तर्गत ६६५ जना ग्राहकबाट १ अर्व ८१ करोड रुपैयाँभन्दा बढी रकम संकलन गरी तेस्रो स्थान हासिल गर्न सफल भएको सभालाई जानकारी गराए । साथै क्यापिटलले सञ्चालनमा आएको ६ वर्ष ४ महिनाको अवधिमै सेयरधनीलाई १८७ प्रतिशत रिर्टन वितरण गर्न सफल भएको समेत उनले बताए ।
क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोगमार्फत ग्राहकमाझ पुर्याउन अब लाइनमा होइन, क्यापिटलको सम्पूर्ण सेवा अनलाइनमा नाराका साथ क्यापिटलसँग आवद्ध ग्राहक तथा क्यापिटलबाट सेवा लिन चाहने ग्राहकलाई प्रविधिको प्रयोगमार्फत क्यापिटलमा उपस्थित नभई मोबाइलबाटै सहज र सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।









