काठमाडौं– गोलभेंडा र चामलमा मूल्यृवद्धि झेलेका उपभोक्ताले अब प्याजको मूल्यवृद्धि झेल्नुपर्ने भएको छ ।

भारतले आगामी डिसेम्बरसम्म प्याज निर्यातमा ४० प्रतिशत शुल्क लगाउने भएपछि नेपालमा यसको मूल्य बढ्ने सम्भवना उच्च भएको हो । नेपाली बजारको माग स्वदेशी उत्पादनको प्याजले धान्दैन ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९–८० मा नेपालमा १८ करोड १ लाख ९० हजार २४१ केजी ताजा वा चिसो पारेको प्याज र सालौट तथा १३ लाख २८ हजार ६११ केजी सुकेको प्याज आयात भएको छ । नेपालमा धेरैजसो प्याज आयात हुने भारतबाटै हो । ४० प्रतिशत निकासी शुल्क तिरेर ल्याउँदा मूल्य सोही अनुपातमा बढ्छ ।

भारतले आन्तरिक बजारको मूल्यवृद्धि रोक्न निकासी निरुत्साहित गर्ने उद्देश्यले निकासीमा भारी शुल्क लगाएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सेप्टेम्बरमा प्याजको मूल्य बढ्ने सम्भावना रहेको समाचार आइरहेका बेला सरकारले निकासीमा शुल्क लगाउने घोषणा गरेको हो ।

‘आन्तरिक बजारमा प्याजको उपलब्धता सुधार गर्न सरकारले तत्कालैदेखि लागू हुने गरी डिसेमबर ३१ सम्मका लागि यसमा ४० प्रतिशत निर्यात शुल्क लगाएको छ,’ अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै भनेको छ ।

उपभोक्ता मामिला मन्त्रालयको तथ्यांक अनुसार शनिबार भारतीय बजारमा प्याजको औसत खुद्रा मूल्य ३० रुपैयाँ ७२ पैसा प्रतिकेजी थियो । यसमा अधिकतम मूल्य प्रतिकिलो ६३ रुपैयाा र न्यूनतम १० रुपैयाँ थियो । नयाँ दिल्लीमा शनिबार प्याजको मूल्य प्रतिकिलो ३७ रुपैयाँ थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतले ११ अगस्टबाट बफर स्टकको प्याज बजार पठाउन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय