दाङ– गत साउन २० गते यहाँ तीन जनाले आत्महत्या गरे । तुलसीपुर उपमहानगरपालिका वडा नं ९, वडा नं १९ विजौरी र राजपुर गाउँपालिका वडा नं ६ गंगदीमा भएका तीन घटनामा एउटा समानता थियो । आत्महत्या गर्ने तीन जनाले एकै किसिमको विष सेवन गरेका थिए । उक्त तथ्य शव परीक्षणपछि खुलेको प्रहरीको भनाइ छ ।
आत्महत्या गर्ने तुलसीपुर–९ का ३७ वर्षीय मानबहादुर विक, विजौरीकी ५० वर्षीया बमकुमारी विक र गंगदीकी थारु समुदायकी २१ वर्षीया युवतीले सोही दिन दिउँसो विष सेवन गरेको प्रहरीको भनाइ छ । उनीहरुलाई उपचारका लागि अस्पताल पुर्याइए पनि बचाउन नसकिएको चिकित्सकको भनाइ छ । उनीहरुले किन विष सेवन गर्ने भन्नेबारे जानकारी प्राप्त भएको छैन ।
तीन जनाले आत्महत्या गरेको तीन दिनपछि साउन २३ गते पनि तुलसीपुर उपमहानगरपालिका–१२ क्वाङीकी १२ वर्षीया चौधरी समुदायकी एक बालिकाले पनि विष खाएर आत्महत्या गरेको खबर आयो । उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइयो तर बचाउन सकिएन । यी तीन दिनभित्र भएका चार प्रतिनिधि घटना हुन् ।
दाङ जिल्लामा प्रायः तीनदेखि चार दिनसम्ममा आत्महत्याका समाचार आइरहेकै हुन्छन् । दाङमा गत वर्ष ९५७ आपाराधिक घटना घटेका छन् । तीमध्ये सबैभन्दा बढी २१९ वटा आत्महत्यासँग सम्बन्धित रहेको जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांक छ । आत्महत्या गर्नेमध्ये १७३ जनाले झुण्डिएर, ३५ जनाले विष सेवन गरेर, आठ जनाले आत्महत्या दुरुत्साहन र तीन जना नदीमा हामफालेको प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमको भनाइ छ ।
आर्थिक वर्ष २०७९–८० मा २१९, आव २०७८–७९ मा २२०, आव २०७७–७८ मा २४१ र आव २०७६–७७ मा २३१ जनाले आत्महत्या गरेको उनले जानकारी दिए । विभिन्न मानसिक तनाब, उच्च महत्वाकांक्षा, पारिवारिक कलह, दीर्घरोग, काममा असफलता, गरिबी, प्रेममा धोका, प्राकृतिक प्रकोपलगायतका कारणले मानिसले आत्महत्या गर्ने गरेको प्रहरीको अनुभव छ ।
व्यक्तिको उच्च महत्वाकांक्षा र विभिन्न कारणले तनाव हुने र त्यसपछि डिप्रेसन भएका कारण पनि धेरै जसोले आत्महत्या गर्ने गरेको बताउँछिन् सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य नीरा योगी । ‘सबैको सामूहिक प्रयासले गाउँ तहसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर आत्महत्या गर्नुहुँदैन भन्ने खालका कार्यक्रम गर्नुपर्छ,’ उनले भनिन् ।
प्रविधिको दुरुपयोग, चेतना अभाव, मानिसका उच्च महत्वाकांक्षाका कारण यस्ता घटनामा वृद्धि भएको र यी घटनालाई निरुत्साहित गरी समाजमा सकारात्मक सोचको विकास गर्ने कार्यक्रम आवश्यक रहेको विचार व्यक्त गर्छन् ज्येष्ठ नागरिकका अगुवा खुमानन्द अधिकारी ।
‘आत्महत्याका पछाडि विभिन्न कारण छन् र त्यसमा पनि प्रमुख कारण डिप्रेसन नै हो,’ डाक्टर मुरलीमनोहर रौनियारले भने । उनी यस्ता व्यक्तिलाई समयमै उपचार र जीवनबारे बुझाउन सकिएमा आत्महत्याका घटनामा कमी आउने बताउँछन् । उनले आत्महत्या निरुत्साहित गर्ने मनोसामाजिक परामर्श गर्नुपर्ने समेत बताउँछन् ।









