काठमाडौं– तस्करहरुले हङकङबाट मोटरसाइकलको ‘ब्रेक सु’भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९.९ प्रतिशत भएको परीक्षणबाट पाइएको लागेको छ । हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन परीक्षण गर्दा पूर्ण शुद्ध रहेको पाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले जानकारी दिए ।

उनले उक्त सुन ९९.९ प्रतिशत नै शुद्ध रहेको भनेर विभागलाई जानकारी गराइएको बताए । ‘९९.९ प्रतिशत हुनु भनेको सुन पूर्ण शुद्ध हो,’ उनले भने ।

टक्सार विभागले सुनको परीक्षण प्रतिवेदन राष्ट्र बैंक, राजस्व अनुसन्धान विभागलगायत सरोकारवाला निकायमा पठाइसकेको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन पूर्ण शुद्ध रहेको जानकारी आएको बताए । प्राप्त जानकारीमा उक्त सुन २४ क्यारेटकै रहेको उल्लेख छ । बरामद गरिएको सुन गत साउन ३० गते गालेर बिस्कुट बनाई जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो । त्यसको अघिल्लो दिन साउन २९ गते ब्रेक शुबाट सुन छुट्ट्याइएको थियो । यसरी छुट्ट्याइएको सुन ६० किलो ७८९ ग्राम तौल थियो । गालेपछि सुनको मात्रा ७३ ग्राम घटेको थियो ।

राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको ५५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । अहिले सुन तस्करीको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय