काठमाडौं– मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर वैदेशिक रोजगारीमा रहेका लगानीकर्तालाई बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले एनआइसी एसिया क्यापिटल लिमिटेडको निष्कासन तथा विक्री प्रबन्धकत्वमा ७४ हजार ८४० कित्ता सेयर श्रमस्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको थियो ।
गत साउन १४ गतेदेखि २८ गतेसम्म निष्काशन तथा विक्री खुला राखिएको एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ । उक्त सेयरका लागि ३१ हजार ५२२ जनाले आवेदन दिएको र ७ लाख ०४ हजार २०० कित्ता माग भएकोमा १ हजार ८६७ आवेदकले ५८ हजार ६४० कित्ताका लागि दिएको दरखास्त रद्द भएको बताइएको छ ।
बाँकी २९ हजार ६५५ आवेदकबाट ६ लाख ४५ हजार ५६० कित्ता सेयर खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको कम्पनीको भनाइ छ । प्राप्त आवेदन रुजु गर्दा ७ जना आवेदकबाट २६० कित्ता सेयर खरिदको लागि प्राप्त आवेदन रीतपूर्वक नदेखिएकोले त्यो पनि रद्द भई कायम रहेका २९ हजार ६४१ जनालाई गोलाप्रथाबाट छानिएका ७ हजार ४८४ जनालाई १० कित्ताका दरले बाँडफाँट गरिएको कम्पनीको भनाइ छ ।









