ढोरपाटन (बागलुङ)– गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौंको भौतिक संरचनामा क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण सयौं स्थानीय विस्थापित भएर आफन्तको आश्रयमा बसेका छन् । व्यापार र कृषि पेसामा आबद्ध स्थानीय बाढीले घर, पुल र गरिखाने बारी बगरमा परिणत गरिदिएपछि हातमुख जोड्ने विकल्पहीन बनेका छन् ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्यांक अनुसार बाढीले कागबेनीमा करिब एक अर्ब रुपैयाँको क्षति पुर्याएकोे छ । भौतिक संरचना, स्थानीयवासीको घर, व्यवसाय र विभिन्न संघसंस्थाको कार्यालयमा क्षति पुगेको छ । बाढीले यहाँका कृषकले खेती गर्दै आएको स्याउ बगैंचा र सिँचाइ कुलो समेत नष्ट पारेको छ ।
गाउँपालिकाको कृषि शाखाको तथ्यांक अनुसार कागबेनीवासी कृषकको करोड बढीको स्याउ, ओखर, नास्पातीलगायत फलफूलका बोटमा क्षति पुगेको छ । बाढीले कृषकको ११ रोपनी तीन कट्ठा बढीमा लगाइएको स्याउलगायतका फलफूलमा क्षति पुर्याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी दिए ।
उनका अनुसार १६९ भन्दा बढी स्याउका बोटमा क्षति पुगेको छ । स्थानीय मिङमर गुरुङको ४५ वटा स्याउका बोट र नर्सरी नष्ट भएको उनको भनाइ छ ।
बाढीले सबैभन्दा बढी स्थानीय कृषक कुंगा नमडुल गुरुङ, पेमा निङ्वो विष्ट र कर्म छोक्ले गुरुङको स्याउबारीमा रहेको स्याउ बोटमा क्षति पुगेको धामीले बताए । उनीहरूको ३५ देखि ५५ वटासम्म स्याउ बोटमा क्षति पुगेको छ । बाढीले स्याउलगायतका कृषि उत्पादन हुने खेतीयोग्य जमिनमा पनि ठूलो क्षति पुगेको छ । करिब सात हेक्टर जमिनमा सिँचाइ गरिने कागबेनी सिँचाइ कुलोमा क्षति पुगेको शाखा प्रमुख धामीले जानकारी दिए ।
गाउँलेले कागबेनी वारिपारि क्षेत्रको खेतीयोग्य जमिनमा सिञ्चित हुने तीनवटा कुलोमा बाढीले क्षति गरेको छ । उनका अनुसार ३६ रोपनी जग्गामा सिञ्चित गरिने सिँचाइ कुलोसमेत बाढीले बगाएको छ । गाउँपालिकाले कृषकलाई अनुदानमा उपलब्ध गराएको खेतबारी जोत्ने नौवटा हाते ट्रयाक्टरसमेत बाढीले बगाएको उनी बताउाछन् । बाढीले स्याउका बोट, बगैंचा, विभिन्न कृषि उकरण र सिँचाइ कुलो बगाउँदा एक करोडभन्दा बढीको क्षति भएको धामीको भनाइ छ ।
बाढीले कृषकको गोठ र पशुचौपाया पनि बगाएको छ । पशुचौपाया बगाउँदा ५० लाख बढीको क्षति भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पशु शाखा प्रमुख समीक्षा कठायतले जानकारी दिए । बाढीले २३ गोठ, ३२ लुलुगाई, दुईवटा खसी र एउटा घोडा बगाएको प्रमुख कठायतले बताए ।
बाढीले नगद, सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख बराबरको २५ क्षति गरेको छ । सडक, मोटरेबल पुल, झोलुंगे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत १४ वटा भौतिक पूर्वाधार गरी २१ करोड २ लाख बराबरको क्षति भएको गाउँपालिकाले तयार गरेको तथ्यांकमा उल्लेख छ । ५० घरमा ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ भने २२ वटा घर पूर्ण र पाँचवटा घरमा आंशिक क्षति भएको छ ।









