काठमाडौं– राष्ट्रिय महिला आयोगको सदस्य तथा प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले दुईवर्षे कार्यकालमा गरिएका समस्टिगत कार्य समेटेर लेखेको ‘कार्य प्रगति विवरण’ पुस्तक लोकार्पण गरिएको छ ।
आयोगको केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा आइतबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाका अर्थसमिति सभापति सन्तोष चालिसे, प्रतिनिधिसभाका कानुन न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, पुस्तकका समालोचक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री चित्रलेखा यादव, कोशी प्रदेशको स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुलगायतले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।
खतिवडाद्वारा लिखित उक्त पुस्तकमा आफूले महिला आयोगमा २०७७ साल माघ १७ गते पदबहाली गरेयताको दुई वर्षमा सम्पन्न काम समेटिएको बताइएको छ ।
कार्यक्रममा बोल्दै सभापति चालिसेले लामो संघर्षपछि लोकतान्त्रिक संविधानले महिलाको हक र अधिकारलाई संविधानमा नै लिपिबद्ध गराएको स्मरण गराउँदै कार्यान्वयनको पक्षभने कमजोर रहेको औंल्याए । हिमाल, पहाड तथा तराईका दुर्गम तथा सुगम ठाउँका महिलाहरुमा गाउँ अनुसार समस्या फरक–फरक रहेको बताउँदै उनले भने, ‘संविधानले दिएको अधिकारलाई कार्यान्वयनमात्र गर्न सके पनि महिलाको पक्षमा ऐतिहासिक उपलब्धिका रुपमा लिन सकिन्छ ।’









