कास्की– माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ ।

आयोजनाको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको र दुई महिनाभित्रमा आयोजनाको बाँकी रहेका सम्पूर्ण काम सकिएर विद्युत् उत्पादन सुरु हुने जनाइएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनी प्रालिले सेती जलविद्युत् आयोजना निर्माण गरेको हो । यसको लागत पाँच अर्ब रुपैयाँ रहेको छ ।

आयोजनाको सिभिलतर्फ हेडवर्क्को सबै काम सकिएको छ । त्यसैगरी पाइपलाइन जडानको काम पनि पूरा भएको छ । विद्युत् गृहमा उपकरण जडानको काम भइरहेको छ । परीक्षण उत्पादन सुरु भएको १५ दिनपछि व्यावसायिक उत्पादन सुरु हुने बताइएको छ । आयोजनाको विद्युत् उत्पादन गर्नुपर्ने मिति (आरसिओडी) भित्रमा नै व्यावसायिक उत्पादन गर्ने गरी काम भइरहेको आयोजनाका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए ।

आयोजनाको सिभिलतर्फको सबै काम पूरा भएको र हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणतर्फका काम अन्तिम चरणमा रहेको उनले जानकारी दिए । आयोजनाका अनुसार हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलका लागि आवश्यक सबै उपकरण तथा सामग्री निर्माणस्थलमा आइसकेकाले जडान भइरहेको छ ।

प्रसारण लाइनमा रहने १४ टावरमध्येमा ११ वटाको काम सकिएको बताइएको छ । प्रसारण लाइनको ‘राइट अफ वे’ क्लियर भइसकेकाले बाँकी टावर निर्माण र तार जडान गरिने आयोजनाले जनाएको छ । ‘मंसिर पहिलो साताभित्रमा परीक्षण उत्पादन सुरु गर्ने गरी कामलाई तीव्र बनाएका छौं,’ अध्यक्ष पोखरेलले भने, ‘धेरै समय लाग्ने काम अब बाँकी छैन, सरकारी तथा निजी सबै क्षेत्रबाट प्राप्त सकारात्मक सहयोगले आयोजना सम्पन्न हुने चरणमा आइपुगेको हो ।’

ड्याम, टनेल, पावर हाउस, टावर निर्माण तथा ‘राइट अफ वे’लाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ । यी काम अन्तिम चरणमा पुगिसकेको आयोजनाले जनाएको छ । विसं २०७७ साउनदेखि आयोजनाको काम सुरु भएको हो ।

कोरोना महामारीका कारण आयोजनाको कामलाई असर गरेपछि निर्धारित समयभन्दा एक वर्ष बढी समय लागेको बताइन्छ ।

माछापुच्छ्रे–२ को भराभरीमा आयोजनाको हेडवर्क्स रहेको छ । भराभरीस्थित सेती नदीको पानीलाई बाँध बाँधेर ६ हजार ४ सय मिटर लामो भूमिगत पाइपमार्फत विद्युत् गृहमा खसालेर बिजुली उत्पादन हुनेछ । विद्युत् गृहमा १ सय ८७ मिटर उचाइबाट पानी खसालेर १२.५ मेगावाट क्षमताका दुईवटा टर्बाइनबाट बिजुली उत्पादन हुनेछ ।

उत्पादित बिजुली विद्युत् गृहसँगैको स्विचआर्डबाट प्रसारण लाइनमार्फत लाहाचोकमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको १३२ केभी क्षमताको मोदी–लेखनाथ सबस्टेसनमा जडान गर्ने योजना रहेको आयोजना प्रमुख इन्जिनियर लेखनाथ पाण्डेले जानकारी दिए ।

कास्की र पर्वतमा निर्माण भएका जलविद्युत् आयोजनाहरुको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि विद्युत् प्राधिकरणले नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना हालै निर्माण गरेको हो । यसबाट विद्युत् आपूर्तिमा समेत सुधार हुने विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय