गण्डकी– पोखरामा मिटर प्रणालीमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना रकम बढाइएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसहित मन्त्रालयका अधिकारी, सुरक्षा निकाय र यातायात कार्यालयका प्रमुखको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले मिटरमा नचल्ने ट्याक्सीलाई २ हजार १ सयका दरले जरिवाना तिराउने गरिएकामा अबदेखि न्यूनतम जरिवाना ५ हजार रुपैयाँ पुर्याउने निर्णय भएको जानकारी दिए ।

गत भदौ १ गतदेखि पोखरा उपत्यकामा चल्ने ट्याक्सीमा लागू भएको मिटर प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ रणनीति अपनाउने निर्णय भएको उनले बताए । मन्त्री जुग्जालीले ट्याक्सीको मिटर प्रणालीमा थप कडाइ गरिने बताए ।

‘ट्याक्सी मिटरमा सञ्चालन भए, नभएकोबारे मन्त्रालयबाट नियमित अनुगमन भइरहेको छ,’ उनले भने, ‘कुनै ट्याक्सीले मिटरमा चल्न नमानेमा तुरुन्तै ट्राफिक प्रहरी, यातायात कार्यालय र मन्त्रालयमा उजुरी गर्न सकिन्छ ।’ हालसम्म मिटरमा सञ्चालन हुन नमान्ने १ सय १७ ट्याक्सीलाई कारबाही गरिएको र केही ट्याक्सी कारबाहीको प्रक्रियामा रहेको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मिटर प्रणालीमा नचल्ने ट्याक्सीलाई सवारी ऐनअन्तर्गत कारबाही गर्ने गरिएको कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक शिवप्रसाद पाठकले बताए । ट्याक्सीले मनपरी भाडा लिएर यात्रु ठग्ने गरेको जनगुनासो बढेपछि मन्त्रालयले मिटर प्रणाली लागू गर्न पहल लिएको थियो । ट्याक्सी व्यवसायीसँग विभिन्न चरणमा छलफल गरी मिटर प्रणालीमा ट्याक्सी सञ्चालन गर्ने निर्णय भएको थियो ।

२०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि पोखराका ट्याक्सी मिटरमा चलेका थिएनन् । दुई वर्षअघि समायोजन गरिएको भाडादरअनुसार १५ किलोमिटरको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) ८० र त्यसपछि प्रत्येक २ सय मिटरको १० रुपैयाँ तोकिएको छ ।

१५ किलोमिटरभन्दा बढीको दूरीमा प्रतिकिलोमिटर ३७ रूपैयाँ ५० पैसा कायम गरिएको थियो । केही ट्याक्सी चालकले पछिल्लो समय इन्धन र सवारीसाधनका उपकरणमा भएको मूल्यवृद्धिअनुसार भाडा समायोजन नभएको भन्दै मिटरमा चल्न आनाकानी गर्न थालेको यात्रुले गुनासो गरेका छन् ।

भाडादर समायोजनको विषयमा पनि मन्त्रालय गृहकार्यमा जुटिरहेको जनाउँदै प्रवक्ता पौडेलले यातायात व्यवसायीले विगतमा गरेको प्रतिबद्धता कार्यान्वयनमा जिम्मेवार बन्नुपर्ने बताए । उनले ट्याक्सीले मनलाग्दी भाडा लिने प्रवृत्तिको अन्त्य गरिने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय