काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि आज राति १२ बजेदेखि फिर्ता हुने जनाएको छ । निगमले आज सूचना प्रकाशन गर्दै सरकारले दिएको निर्देशनअनुसार मूल्यवृद्धि गर्ने निर्णय आजैदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि आसन्न चाडबाड र सर्वसाधारणको हितलाई ध्यानमा राखी तत्काल फिर्ता लिन निर्देशन दिएको थियो । मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय फिर्ता लिइएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

निगमले गए रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको थियो । त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर आठ बढाइएको थियो । मूल्यवृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ११० पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय