काठमाडौं– प्रहरीले ठगी कार्यमा संलग्न रहेको आरोपमा पाकिस्तानी र अजरबैजनी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पाकिस्तानको रावलपिन्डी घर भई हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ५१ वर्षीय नाजिर मोहम्मद र अजरबैजन घर भई हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ३१ वर्षीया आयसेल हुसेनिललाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिए ।

उनका अनुसार पाकिस्तानी र अजरबैजनी नागरिकको साँठगाठ तथा मिलेमतोमा वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक, नर्वे, पोल्यान्ड, पोर्चुगललगायत देशमा पठाइदिने भनी वर्क पर्मिटलगायत नक्कली कागजात देखाएर विश्वासमा पारी ठगी गर्ने योजना बनाइएको थियो ।

जाहेरीका आधारमा कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले ठमेलमा रहेको होटेल यात्री र डड्डी सुइट्स स्पाबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रेग्मीले बताए । विदेश पठाउने प्रक्रियाका लागि लाग्ने खर्च प्रतिव्यक्ति एक हजार अमेरिकी डलर लिने गरेको, नक्कली ‘अफर लेटर’, वर्क पर्मिट, भिसा लगायतका कागजात देखाई रकम पठाउन लगाउने गरेको अनुसन्धानका क्रममा खुलेको उनको भनाइ थियो ।

उनीहरुले नेपाली ८० लाख रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय