कास्की– सेती नदी जलविद्युत् आयोजनाको प्रवर्द्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका लागि जारी गरेको प्राथमिक सेयर (आइपिओ) मा १३ लाख ६८ हजार एक सय ५० हजार कित्ता सेयर आवेदन परेको छ ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका लागि गत भदौ १९ गतेदेखि प्राथमिक सेयर निष्कासन गरेको थियो । असोज १७ गते अन्तिम दिन रहेकामा १३ करोड ६८ लाख १५ हजार बराबरको आवेदन परेको कम्पनीले जनाएको छ ।

प्रभावितका लागि निष्कासिन आइपिओमा तोकिएको संख्याभन्दा ५ लाख ४४ हजार ३५० कित्ता न्यून आवेदन परेकाले प्रक्रिया पूरा गरेका सबैले सेयर प्राप्त गर्ने कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए । उनका अनुसार आयोजना प्रभावित क्षेत्रका रुपमा रहेका माछापुच्छ्रे गाउँपालिका–१, २, ३, ४ र पोखरा महानगरपालिका–१९ का स्थानीय बासिन्दाका लागि सेयर जारी गरेको थियो ।

कम्पनीको आइपिओमा आस्बाबाट १ सय ३९ जनाले ५ लाख ६७ हजार २२० कित्ता र भौतिक उपस्थित भएर ८७९ ले ८ लाख ९३० कित्ता आवेदन गरेका छन् ।

भिजन लुम्बिनीले आफ्नो जारी पूँजी १ अर्ब ९१ करोड २५ लाखको १० प्रतिशत अर्थात १९ करोड १२ लाख ५० हजार बराबरको १९ लाख १२ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको कम्पनीका कार्यकारी अध्यक्ष पोखरेलले जानकारी दिए ।

कम्पनीले सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशतले १ लाख ९१ हजार २५० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरीरहेका नेपालीका लागि निष्कासन गरी असोज १५ गते बाँडफाँड गरेको छ । कम्पनीले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको थियो ।

कार्यकारी अध्यक्ष पोखरेलले आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार ढिलोमा आगामी मंसिरभित्र आयोजना सम्पन्न भएर व्यावसायिकरुपमा विद्युत् उत्पादन हुनेछ । मंसिर पहिलो साता आयोजनाबाट परीक्षण उत्पादन सुरु गर्ने तयारी गरिएको पोखरेलको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय