काठमाडौं– कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा समाहित गर्न महत्त्वपूर्ण मानिएको कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।

लामो समयदेखि निर्माणको प्रक्रियामा रहेको सो प्रसारण लाइन निर्माण सम्पन्न भएपछि बिजुली प्रवाहका लागि थप सहज भएको छ । कूल २ सय २० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएपछि त्यसले राष्ट्रिय रुपमै सहयोग पुग्नेछ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भूमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको करिब एक सय ४० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत् प्रसारणका लागि पूर्वाधार तयार भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण गरेको थियो । पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको करिब ४० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । पहिलो खण्डमा नै खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा छन । दुवै सबस्टेसनमा एक सय/एक सय एमभिए क्षमताका पावर ट्रान्सफर्मर राखिएका छन् ।

दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको करिब ९० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गरी सोमबार साँझ चार्ज गरी सञ्चालनमा ल्याइएको छ । यस खण्डमा दुई सय ३६ वटा टावर निर्माण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय