काठमाडौं– सरकारको सिफारिसमा कैद मिनाहा पाएका एक व्यक्ति प्रेमिकाको हत्या अभियोगमा पुनः पक्राउ परेका छन् ।
सरकारको सिफारिसमा जेलमुक्त भएको एक महिना नबित्दै उनले अर्को अपराध गरेका हुन् । गत संविधान दिवसको दिन जेलमुक्त भएका पश्चिम रुकुम, सानीभेरी गाउँपालिका–९ का लोकबहादुर बिक (लोकेन्द्र) लाई हत्या आरोपमा पक्राउ गरिएको रुकुम पश्चिम प्रहरीले जानकारी दिएको छ ।
डिएसपी नमराज भट्टराईका अनुसार लोकन्द्रले मुसीकोट–७, साँखककी २७ वर्षीया भावना बिकको हत्या गरेका हुन् । उनले भावनाको हत्या गरेको प्रहरीसामु स्वीकार गरेका छन् । असोज ३० मा मुसिकोट नगरपालिका–१ त्रिवेणीचोकको सत्कार होटलमा भावनाको शव फेला परेको थियो ।
३३ वर्षीय लोकेन्द्र र भावनाबीच प्रेम सम्बन्ध रहेको र भावनाले विवाह गर्न दबाब दिएपछि हत्या गरेको लोकेन्द्रले बताएका छन् ।
भावना र लोकेन्द्र असोज २८ गते त्रिवेणी चोकको सत्कार होटलमा बस्न गएका थिए । भावनाले बिहे गर्न दबाब दिएपछि सुरुमा छानिमा छातिमा मुक्का हानेको र त्यसपछि होटलको कोठामा भेटिएको चक्कुले घाँटी रेटेर हत्या गरेको लोकेन्द्रले बताएको प्रहरीको भनाइ छ ।
प्रहरीले भने हत्यामा नयाँ चक्कु प्रयोग भएको भेटिएकोले हत्यालाई योजनाबद्ध मानेको छ । हत्यापछि होटलबाट हिँडका उनलाई प्रहरीले खलंगास्थित डेराबाट पक्राउ गरेको हो । होटलको कोठा बाहिरबाट बन्द भएको देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् ।
लोकेन्द्र बहुविवाह मुद्दामा रुकुम पश्चिम जिल्ला अदालतबाट ११ महिना कैद सजाय पाएका व्यक्ति हुन् । ६ महिना कैद बसेपछि मन्त्रिपरिषद्ले उनको चालचलन ‘असल’ भएको भन्दै कैद छुट दिन सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेपछि लोकेन्द्र असोज ३ छुटेका हुन् ।
बहुविवाहमा एकपटक मुद्दा झेलेर निस्केको हुनाले भावनासँग विवाह गर्दा समस्या पर्ने देखिएपछि हत्या गरेको उनले बयान दिएका छन् ।









