काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले गत शुक्रबार रातिको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिमका सर्वसाधारणलाई आवश्यक खाद्यान्न, त्रिपाल, लत्ताकपड, सिरकडसना र म्याट्रेस सहयोग गर्ने भएको छ ।
चेम्बरको विपद् व्यवस्थापन कोषअन्तर्गत भूकम्प प्रभावितलाई अत्यावश्यक सामग्री सहयोग गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिएका छन् ।
चेम्बरले आवश्यक सम्पूर्ण सामाग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्समार्फत सरकारको एकद्वारा प्रणालीमा सहयोग गर्ने बताएको छ । भूकम्पबाट अतिप्रभावित जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका पीडितलाई खाद्यान्न, त्रिपाल, लत्ताकपडालगायत सिरक डसना र म्याटे«स वितरण गर्ने चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारी संयन्त्रसँग समन्वय गरेर नै सहयोग सामग्री वितरण गरिने अध्यक्ष मल्लको भनाइ छ । जाजरकोटमा गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पमा परी ज्यान गुमाउनेप्रति चेम्बरले गहिरो समवेदना प्रकट गरेको छ ।
चेम्बरले जाजरकोट र आसपास जिल्लामा भूकम्पपीडितको पुनस्र्थापनाका लागि आवश्यक सहयोग संकलन जुटाउन समेत प्रदेश, जिल्ला र नगर चेम्बरलाई आग्रह पनि गरेको छ ।









