काठमाडौं– बलात्कार अभियोगमा जिल्ला अदालत काठमाडौंबाट ८ वर्ष कैद सजाय तोकिएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ ।
क्रिकेटर लामिछाने जबरजस्ती करणी मुद्दामा कसुरदार ठहरिएर सजाय तोकिएकोले उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको क्यानले जानकारी दिएको छ ।
जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई पुस १३ गते बलात्कारी ठहर गरेको थियो । त्यसपछि बुधबार बसेको न्यायाधीश ढकालकै इजलासले लामिछानेलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउन फैसला गरेको थियो ।
सन्दीपले एक युवतीलाई बलात्कार गरेकोमा दोषी ठहरिएका हुन् । सुरुमा नाबालिग भनिएकी ती युवती बलात्कारको समय नाबालिग भने नरहेको अदालतले ठहर गरेको छ । ती युवतीले फ्यानको नाताले घुम्न गएको बेला लामिछानेले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
बलात्कार अभियोगमा दोषी ठहरिएका लामिछानेलाई काठमाडौं जिल्ला अदालतले बुधवार सजाय सुनाएको थियो ।









