काठमाडौं– कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रालि, फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालि तथा एक्जिबिसन्स एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिले संयुक्त रुपमा कृषिसम्बन्धी बृहत अन्तरराष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ यही २०८० माघ १२, १३ र १४ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न गइरहेको छ । आयोजना हुन गइरहेको प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहनेछन् ।
माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालबाट २०८० माघ १२ गते बिहान ११ः०० बजे उद्घाटन हुने यस प्रर्दशनीलाई सफल बनाउन प्रवर्द्धकको भूमिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको भूमिकामा मुक्तिनाथ कृषि कम्पनि तथा सहयोगी संस्थाको भूमिकामा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड छ ।
उक्त प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, विषादीरहित कृषि आदिबारे जानकारी प्राप्त गर्न सकिनेछ । उक्त प्रदर्शनीमा देशभरबाट बढीभन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिलगायत आम कृषकहरुले प्रदर्शनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा बिश्वास लिइएको छ । साथै यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा कृषकका समस्या समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न विषयमा स्वदेशी विज्ञहरुद्वारा सेमिनार आयोजना हुने तथा देश भरिबाट आउनु हुने कृषकहरुलाई कृषि प्रबिधि, कृषिका विभिन्न विधाबारे जानकारी गराउने कार्यक्रम समेत रहेको छ ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना साना औजार, मेसिनदेखि लिएर डेरी मेसिनरी तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणको प्रदर्शनी गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पुर्याउन यो प्रदर्शनी कोसेढुंगा सावित हुने आयोजक कम्पनीको विश्वास छ । उक्त प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मदत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।









