काठमाडौं– चालू आर्थिक वर्षको ६ महिनामा आयात ३.०९ र निर्यात ७.२३ प्रतिशतले घटेको तथ्यांक भन्सार विभागले आइतबार सार्वजनिक गरेको छ ।
गत साउनदेखि पुससम्ममा ७ खर्ब ६८ अर्ब रुपैयाँको वस्तु आयात भएको र ७४ अर्ब ९६ करोड रुपैयाँको वस्तु निर्यात भएको तथ्यांक विभागले सार्वजनिक गरेको हो ।
अघिल्लो आर्थिक वर्ष २०७९–८० को यही अवधिमा ७ खर्ब ९२ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । गत आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालबाट ८० अर्ब ८० करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।
आयात–निर्यात दुवै घटेपछि वैदेशिक व्यापार घाटामा भने सुधार आएको छ । चालू आर्थिक वर्ष २०८०–८१ को ६ महिनामा वैदेशिक व्यापार घाटा पोहोरको तुलनामा २.६२ प्रतिशतले कम भएको छ । यस अवधिमा व्यापार घाटा ६ खर्ब ९३ अर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्षको यही अवधिमा ७ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा थियो ।
यस अवधिमा आयातित वस्तुबाट भन्सार विभागले २ खर्ब ३६ अर्ब ९६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा १ खर्ब ८२ अर्ब ८४ करोड रुपैयाँ मात्रै राजस्व उठेको थियो ।









