काठमाडौं– चालु आर्थिक वर्ष २०८०–८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ ।
गत असार मसान्तसम्ममा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६ महिना अवधिमा १८ प्रतिशतले बढेर पुस मसान्तमा १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च सञ्चिति हो । योसँगै विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक बजेटको आकारभन्दा ठूलो देखिएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तको १३ खर्ब ४५ अर्ब ७८ करोडबाट पुस मसान्तमा १८.९ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ करोड रुपैयाँ बराबर पुगेको छ ।
राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग गत असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड विदेशी विनिमय सञ्चिति रहेकामा पुस मसान्तसम्म पुग्दा ११.८ प्रतिशतले बढेर २ खर्ब १६ अर्ब ३५ करोड रुपैयाा बराबर कायम भएको छ । गत पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत छ ।
आर्थिक वर्ष २०८०–८१ को पहिलो ६ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । यो अवधिसम्ममा रहेको विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ३३.८, १००.९ र २७.७ प्रतिशत छन् ।
चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा चालु खाता १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब ५७ करोडले घाटामा थियो । यो अवधिमा पुँजीगत ट्रान्सफरमा भने ३० प्रतिशतले कमी आई ३ अर्ब ११ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५३ करोडले धनात्मक रहेको छ ।









