भरतपुर– बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनबाट सबैभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएको एक तथ्यांकले देखाएको छ । यस वर्ष चितवनका १५ हजार ८२३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन् । श्रम स्वीकृत नलिई विदेश जानेको संख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडेले बताए ।
‘चितवनबाट उच्च शिक्षाका लागि अस्ट्रेलिया, अमेरिया, बेलायतलगायत युरोपका देशमा जानेको संख्या बढी छ,’ उनले भने, ‘विदेश नजाने घर भेट्नै मुस्किल हुन लागिसक्यो । उनका अनुसार भरतपुर महानगरपालिकामा मात्रै ३४ हजार ५०० घरधुरीका कुनै न कुनै व्यक्ति वैदेशिक रोजगारीमा गएका छन् ।
आर्थिक वर्ष २०७९–८० मा ७ लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएको श्रम तथा रोजगार विभागको तथ्यांकमा उल्लेख छ । यसमध्ये बागमती प्रदेशबाट १ लाख १६ हजार ९३२ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा चितवन जिल्लाबाट सबैभन्दा धेरै १५ हजार ८२३ जना छन् । धनुषापछि सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने जिल्लामा चितवन रहेको संयोजक पौडेलले जानकारी दिए । यहाँबाट अघिल्लो आवमा १ हजार १६१ जनाले राहदानी बनाएका थिए ।
चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ६ हजार ५६१ जनाले श्रम स्वीकृत लिएका छन् । त्यस्तै माडी नगरपालिकाबाट २ हजार १२७, इच्छाकामना गाउँपालिकाबाट १ हजार ८, रत्ननगर नगरपालिकाबाट १ हजार ४७१, कालिका नगरपालिकाबाट १ हजार ६७९, खैरहनी नगरपालिकाबाट १ हजार ६०८ र राप्ती नगरपालिकाबाट १ हजार २९१ जनाले श्रम स्वीकृति लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनमा चालु आवमा १३६ निवेदन परेका थिए । त्यसमध्ये ६० प्रतिशत मानिसको बिचौलियाले पैसा उठाएर भागेको निवेदन परेको थियो । स्वदेशमै रोजगारी सिर्जना गर्न भरतपुर महानगरपालिका लागिपरेको उपप्रमुख चित्रसेन अधिकारीले बताए । ‘अवैधरुपमा विदेश जानेको सङ्ख्या पनि कमी छैन । भारतमा जानेको संख्या उत्तिकै छ,’ उनले भने, ‘हामी जनप्रतिनिधि यहाँ भएको साधन स्रोत, जल, जमिन, जंगललाई उपयोग गर्दै यहाँ भएको सीपलाई उत्पादनसँग जोड्नुपर्छ । यसका लागि हामी प्रयासरत छौं ।’ वैदेशिक रोजगार देशव्यापी समस्या रहेको उनले बताए ।









