काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले पछिल्लो समय मुलुकको समग्र अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका र सोही बमोजिमको कर्तव्य र भूमिका निर्वाह गर्दै लाखौं ग्राहकलाई अन्तराष्ट्रियस्तरको बैंकिङ सेवा प्रवाह गरिरहेका बैंक, वित्तीय संस्थाको साख, गरिमा, विश्वसनीयतामा ठेस पुग्ने गरी अफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने खालका समाचार सम्प्रेषण भइरहेको भन्दै त्यसप्रति आपत्ति प्रकट गरेको छ ।

सबल नियमनकारी निकायको सूक्ष्म निगरानीमा तथा प्रचलित कानुन तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशन अक्षरशः पालना गर्दै सञ्चालित बैंक, वित्तीय संस्थाहरुको अत्यन्त सबलीकरण र पारदर्शीरुपमा सञ्चालन हुने सुनिश्चितता गर्ने कानुनी व्यवस्था रहेको सम्झाउँदै परिसंघले बैंक, वित्तीय संस्थाका मुख्य वित्तीय परिसूचकहरु स्वस्थ एवं सबल रहेको दाबी गरेको छ ।

यस्तो अवस्थामा सर्वसाधारण निक्षेपकर्ता तथा समग्र ग्राहक वर्गको हकहितका विषयमा कुनै पनि जोखिम सिर्जना नभएको पनि परिसंघको विज्ञप्तिमा उल्लेख छ । सम्पूर्ण सरोकारवालाको हकहित संरक्षण गर्ने विषयमा सिबिफिन र सम्पूर्ण बैंक वित्तीय संस्थाहरु पूर्णरुपमा प्रतिबद्ध र दृढ संकल्पित रहेको दाबी पनि उसले गरेको छ ।

‘तसर्थ, केही व्यक्ति तथा समूहले फैलाएका भ्रामक तथा तथ्यहीन विषयहरुको पछि नलागी आफू सम्बद्ध बैंक तथा वित्तीय संस्थाको वास्तविक तथ्यबारे बुझ्नु परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाका आधिकारिक प्रतिनिधिलाई सम्पर्क गर्न पनि आग्रह गर्दछौं,’ सिबिफिनको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय