ढोरपाटन (बागलुङ)– सात वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेबल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन् । फलामका रडमा खिया लागेको छ । २०७४ माघमा सक्ने गरी निर्माण सुरु भएको मोटरेबल पुलको ४० प्रतिशत मात्रै काम सकिएको छ । बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने मोटरेबल पुल यतिबेला बेवारिसे अवस्थामा पुगेको हो ।

पुलको दुईतिर पिलर उठाएको वर्षौं भए पनि अरु काम भने हुन सकेको छैन । २०७३ असोज ४ गते वाइटी रफिना जेभी कन्स्ट्रक्सनले पुल बनाउने जिम्मा लिए पनि काम गरेन । लामो समयसम्म निर्माण कम्पनीले काम नगरेपछि गत वर्ष मङ्सिर २८ गते ठेक्का तोडियो । ठेक्का तोडिएपछि अब पुल बन्छ कि बन्दैन भन्ने अन्योल सिर्जना भएको छ । सडक डिभिजन कार्यलयमार्फत निर्माण हुन थालेको पुललाई निर्माण कम्पनीले अलपत्र पारेपछि अब कहिले काम सुरु हुन्छ भन्ने निश्चित छैन ।

१६ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको पुलको काम ४० प्रतिशतमै भएको सीमित छ । वर्षौंअघि निर्माण भएको पुलको संरचना भुजीखोलामा आएको बाढीले भत्काइदिएको छ । बाढीले लाखौंको संरचनामा क्षति पुर्याएपछि पुल सुरुकै चरणबाट काम गर्नुपर्ने अवस्थामा छ । पुल बन्न लागेपछि खुसी भएका अधिकारीचौर, नाथुरी लगायतका गाउँका नागरिक अहिले अलपत्र अवस्थामा पुगेपछि दुःखी बनेका छन् ।

कृषि गाउँका रुपमा रहेका अधिकारीचौर र नाथुरीगाउँका हजारौं किसान पुल नबन्दा मारमा परेका छन् । डेढ दशकअघि गाउँमा मोटरबाटो पुगेपछि सिंगो गाउँनै व्यावसायिक तरकारी खेतीमा लागेको छ । यतिका समयसम्म मोटर गुड्ने पुल नबन्दा यस क्षेत्रका तीन सय घरधुरीका किसानले उत्पादन गरेको तरकारी बजारसम्म पुर्याउन समस्या भएको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका किसान कृष्ण कँडेलले बताए ।

भुजीखोलामाथि निर्माण थालिएको पुल नबन्दा अधिकारीचौर, नाथुरी, भैंसीखर्क, घैयाखेत र बाहुनगाउँका हजारौं नागरिकले सास्ती खेप्नु परेको उनको भनाइ छ । हिउँदको समयमा खोला सानो हुँदा गाडी वारपार गर्न सके पनि वर्षाको समयमा भने ठप्प हुने गरेको कँडेल बताउँछन् । हिउँदमा गाउँमै गाडी आएर उत्पादित तरकारी बजारमा पुर्याउन सहज भए पनि बर्षा याममा सकस हुने उनको भनाइ छ । कँडेलले भने, ‘हामी किसानका लागि गाउँमा मोटरबाटो बरदान सावित भएको छ, यहाँका सयौँ मानिस तरकारी खेतीमा आवद्ध छौँ, हिउँदमा गाडी बारीमै आउँछ, बर्षाको चार महिना त ठप्पै हुन्छ, त्यो बेला डोकोमा बोकेर बजार पुर्याउनुपर्छ, डोकोमा बोकेर बजार पुर्याउँदा निकै गाह्रो हुन्छ, पुल बन्न लागेको १० वर्ष नै हुन लाग्यो, अहिले त काम गर्ने मान्छे पनि आउँदैन, भागे छ कि क्या हो, खोलाले पनि केही भागमा क्षति गरेको छ ।’

नाथुरी गाउँका स्थानीयवासी शिवराज कँडेलले अस्तुमा पुल बने आधा घन्टा मै बुर्तिबाङ बजारमा पुग्न सकिने भए पनि अहिले एक घण्टा बढी लाग्ने बताए । पुल नबन्दा वर्षा सुरु भएदेखि कात्तिकसम्म गाउँमा मोटर पुग्न नसक्ने उनको भनाइ छ । गाउँमा कोही बिरामी परेर अस्पताल लैजानु परे डोकोमा बोक्नुपर्ने स्थिति रहेको कँडेलले बताए । पटक–पटक सरोकारवाला निकायमा माग गरी राखे पनि अहिलेसम्म सुनुवाइ नभएको उनले गुनासो पोख्नुभयो ।

‘हिउँदको समयमा समस्या छैन, घुमाउरो बाटो भएर पनि गाउँमा गाडी पुग्छन्, सबैभन्दा बढी समस्या त वर्षामै हुन्छ, पुल अलपत्र पार्ने ठेकेदारलाई कडा कारबाही गर्नुपर्थ्यो, अहिले पुल सकिने बेला ठेक्का रद्द गरे, अब कहिले पुनः ठेक्का गरेर काम सुरु हुने हो ?, कस्तो ठेकेदार पर्ने हो ?’ उनले भने, ‘यही चालले त अवको दश वर्ष पनि पुल बन्ला जस्तो लाग्दैन, राज्यले कडाइ गर्यो र चासो दियो भने समयमै काम बन्ने थियो होला ।’

पुल संघीय सरकारले विनियोजन गरेको ३ करोड ५० लाखको लागतमा निर्माण हुन थालेको थियो । निर्माण कम्पनीले काम गर्न अटेरी गरेपछि गत वर्ष ठेक्का सम्झौता तोडेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इञ्जिनियर अमर अधिकारीले जानकारी दिए । निर्माण कम्पनीको पेश्की जमानतसमेत जफत गरिएको उनको भनाइ छ । उक्त कम्पनीले ४० प्रतिशत मात्रै काम गरेको छ । त्यसमा पनि बाढीले ठूलो क्षति पुर्याएको उनले जानकारी दिए । अब पुलको काम सुरु गर्न नयाँ डिजाइन गर्नुपर्ने भन्दै त्यसका लागि परामर्शदाता कम्पनीलाई आह्वान गरेको सूचना अधिकृत अधिकारीको भनाइ छ ।

परामर्शदाता कम्पनीले नयाँ प्रतिवेदन तयार पारेपछि नयाँ ठेक्का प्रक्रियामा जाने उनले बताए । ‘जति छिटो परामर्शदाताले प्रतिवेदन तयार गर्छ, त्यति छिटो ठेक्का प्रक्रिया अगाडि बढ्छ, पहिले केही काम भए पनि खोलाले क्षति पुर्याएको छ, त्यो पुल धेरै वर्ष अगाडिनै सकिनुपर्ने हो तर निर्माण कम्पनीले निकै लापरबाही गर्यो, इञ्जिनियर अधिकारीले भने, ‘दोहोरो काम गर्न पर्ने भयो, पहिले सकिएको भए, राज्यको लाखौं रकम नोक्सान हुने थिएन, नागरिकले सहज रुपमा यात्रा गर्न पाउँथे, अब काम गर्नका लागि अझै केही समय लाग्ने देखिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय