फुङ्लिङ– राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मंगलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रु’ भएपछि तमोर कोरिडोरबाट चीन र भारत जोडिएका हुन् ।

मित्रराष्ट्र चीनले चार वर्षअगाडि नै समुद्र सतहदेखि पाँच हजार दुई सय मिटर उचाइमा टिप्ताला नाका हँुदै फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला क्षेत्रमा सडक विस्तार गरेको थियो । ओलाङचुङगोला हँुदै सेराप बगरसम्म ‘ट्य्राक’ खोल्ने काम चीनको निर्माण कम्पनीले गरेको थियो । नेपाल र चीनको नाकाबाट नेपालतर्फ ३५ किलोमिटर क्षेत्रमा ट्य्राक खोलिएको थियो ।

नेपालतर्फ सुनसरीको चतरादेखि खोल्दै लगिएको ट्य्राक यसअगाडि चीनले खोलेको ट्य्राकमा गत मंगलबार साँझ जोडिएको उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक आयोजनाका प्रमुख अमिन्द्र खड्काले बताए ।

तमोर नदीको उद्गमस्थल तिप्तला नाकाबाट धनकुटाको मूलघाट हँुदै तमोर किनारैकिनार बनेको सडक भारतसँग जोडिन्छ । उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक आयोजनाअन्तर्गत सञ्चालित सडकको ट्य्राक खोलिएको आयोजना प्रमुख खड्काले बताए । आयोजनाका अनुसार सडक निर्माण काठमाडौंको एसबीए एलाइट जेभीले गरेको हो ।

ताप्लेजुङ सदरमुकाम फुङलिङ मात्रै नभएर यो सडकको ट्य्राक खुलेसँगै कोशी प्रदेश उत्तरतर्फको छिमेकी देश चीनसँग सडक सञ्जालले जोडिएको छ । एसबीए एलाइटले तापेथोकदेखि ओलाङचुङगोलासम्मको ट्य्राक खोल्ने ठेक्का ४४ करोडमा लिएको थियो । तापेथोकबाट काम थालेको ठीक ६ वर्षमा ट्य्राक खोलिएको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीका अनुसार अब ६ वटा मेसिन लगाएर तिप्तला नाकासम्म यस अगाडि खुलाएको ट्य्राकलाई मर्मत गरेर वैशाखमा ताप्लेजुङबाट बिदा हुने योजना छ ।

मूलघाट–दोभान–ओलाङचुङगोला सडक सुनसरीको चतरादेखि ओलाङचुङगोलासम्म २३० किलोमिटर छ ।

ओलाङचुङगोलादेखि तिप्ताला नाकासम्मको दूरी २४ किलोमिटर छ । तमोर कोरिडोरको लम्बाइ २५४ किलोमिटरमा छ ।

कोशी प्रदेशको राजधानी विराटनगरसँग जोडिएको सीमा नाका जोगवनीबाट सुनसरीको चतरा ५१ किलोमिटरमा टाढा छ ।

२०६५ सालमा तमोर कोरिडोर निर्माण थालिएको थियो । २०६७ सालमा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको थियो । चीनसँग सडक सञ्जालले जोडिएसँगै ओलोङचुङगोलाका स्थानीय उत्साहित भएका फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोलाका वडा सदस्य टासी शेर्पाले बताए ।

सडक जोडिए पनि अगाडि चीनबाट खोल्दै ल्याएको ट्य्राक मर्मतसम्भार गर्न केही समय लाग्ने फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोलाका वडाअध्यक्ष छेतेन लामाले बताए । ओलाङचुङगोला सडक पुगेसँगै आगामी नयाँ वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य आगमन हुने अपेक्षा गरिएको अध्यक्ष लामाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय