कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–११, अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले ४ लाख रुपैयाँभन्दा बढी मूल्यका कुखुरा मारेका छन् ।
बिहीवार बिहान कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा कुकुरको हुलले अण्डा दिने लेयर्स जातका ६ सय कुखुरा मारिदिएको हो । सयभन्दा बढी कुखुरा घाइते छन् । ‘बैंकबाट १२ लाख रुपैयाँभन्दा बढी कर्जा लिएर १२ सय अण्डा दिने कुखुरा पालेका थियौं,’ फार्म सञ्चालक आशाले भनिन्, ‘दैनिक कुखुराले चार पेटी जति अण्डा दिँदै आएका थिए, भुस्याहा कुकुर फार्मभित्र छिरेर कुखुरा मारिदिएपछि निकै ठूलो नोक्सानी बेहोर्न बाध्य भएका छौं ।’
फार्ममा पाँच सय जति कुखुरामात्रै बाँकी रहेको उनले सुनाइन् । ऐरका अनुसार फार्मभित्र पसेर कुकुरले झम्टिन थालेपछि कुखुरा कराए । त्यो आवाज सुनेपछि आएर कुकुर धपाएको उनको भनाइ छ । वडाध्यक्षको रोहबरमा प्रहरी मुचुल्का तयार गरिएको उनको भनाइ छ । नगरपालिका क्षेत्रमा भुस्याहा कुकुर नियन्त्रण नहुँदा किसानले निकै सास्ती खेप्नुपरेको स्थानीय जयबहादुर ऐरले बताए ।
‘पोल्ट्री फार्मभित्रै छिरेर आज ठूलो संख्यामा कुखुरा मारिदिए, बाटो हिँडने व्यक्तिलाई पनि झम्टिने गरेको छ,’ उनले भने, ‘धेरै व्यक्तिलाई टोकेर रेबिजको खोप लगाइरहेका छन् ।’ नगरपालिकाले भुस्याहा कुकुर नियन्त्रण गरिदिनुपर्ने उनको भनाइ छ ।
कुखुरा फार्म सञ्चालकले सम्बन्धित निकायलाई क्षतिपूर्तिको व्यवस्था गरिदिन पनि आग्रह गरेका छन् ।









