काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक वर्ष २०७९–८० मा ११ अर्ब ३८ करोड राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा १३ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको विमानस्थलले आजसम्म ६ अर्ब ७६ करोड रुपैयाँ उठाइसकेको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आएको, अन्तर्राष्ट्रिय हवाई यात्रु बढेको तथा विमानस्थल सुधारका समग्र प्रयासबाट राजस्व क्रमशः बढिरहेको बताए । विमानस्थलले यात्रुसेवा शुल्क, कोठा र सटर बहाल तथा जहाजको अवतरण, बिसानलगायत शीर्षकबाट राजस्व उठाउँदै आएको छ ।
विमानस्थलले आर्थिक वर्ष २०७७–७८ मा २ अर्ब ४६ करोड रुपैयाँ राजस्व उठाएको थियो । कोभिड–१९ का कारण सो वर्ष राजस्व घटेको विमानस्थलले जानकारी दिएको छ । कोभिडपछि विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको संख्या पनि बढ्दो क्रममा छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कुल ८६ लाख ९१ हजार ४४३ यात्रुले हवाईयात्रा गरेका छन् । सन् २०२२ मा यो संख्या ७९ लाख ५४ हजार ४९५ थियो, जुन अघिल्लो वर्षको तुलनामा ९.२ प्रतिशतले बढी हो । एक वर्षमा अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार १३७ ले हवाईयात्रा गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ३० दशमलव १८ प्रतिशतले बढी हो । आन्तरिकतर्फ हवाईयात्रा गर्नेको संख्या ४१ लाख ५० हजार ३२६ पुगेको छ ।
कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार ९१२ र २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाईयात्रा गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल आन्तरिकतर्फ नौ एयरलाइन्स कम्पनी र १२ हेलिकोप्टर कम्पनी सञ्चालनमा छन् भने अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेका छन् ।
नेपालले ४२ मुलुकसँग दुईपक्षीय हवाई सेवा सम्झौता गरेको छ । पछिल्लोपटक गत माघ २३ गते नेपाल र स्विजरल्यान्डबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो ।









