धरान (सुनसरी)– एउटा उखान छ, ‘जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली ।’ संसारमा नेपालीलाई चिनाउने ‘वीर गोर्खाली’ सँगै गोर्खाली हतियार ‘खुकुरी’ पनि हो । गोर्खाली र खुकुरी एक अर्काका परिपुरक हुन् भन्ने माथिको उखानबाट पनि बुझ्न सकिन्छ । अहिले यो खुकुरी गोर्खालीको पहिचान र सानमा मात्र सीमित छैन, यो एउटा गतिलो व्यापार पनि बनेको छ ।

मुलुकमै सबैभन्दा धेरै खुकुरी उत्पादन लामो धरानमा समयदेखि हुने गरेको छ । धरानमा बनेका खुकुरी नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजार अमेरिका, बेलायत, चीन, भारत, सिंङगापुरलगायत धेरै वटा देशमा पुग्ने गरेका छन् । त्यसबाट खुकुरी व्यवसायीले मासिक लाखौं रुपैयाँ नेपाल भित्र्याइरहेका छन् ।

धरानमा व्यावसायिक रुपमा खुकुरी उद्योग सञ्चालन गर्नेमध्येका एक घमानसिंह विश्वकर्माले भन्छन्, ‘यहाँ उत्पादन भएका खुकुरी भारत, चीन, क्यानाडा, सिंगापुर, दुबई, अमेरिकादेखि बेलायतसम्म पुग्छन् ।’

धरानकै गोविन्द दर्नालले पनि आफूले उत्पादन गरेका खुकुरी पनि देशदेखि विदेशसम्म पुग्ने गरेको बताए ।

घरेलु उद्योगका रुपमा मात्र होइन, ठूलो व्यवसायका रुपमा खुकुरी उद्योग सञ्चालन गर्नेहरु पनि धेरै छन् धरानमा । दीपक दर्नालले सञ्चालन गरेको न्यु गोर्खाली खुकुरी इन्डस्ट्रिजमा ३० जना कालीगढले काम गर्छन् । कोरोना महामारीअघि उनको उद्योगमा ६० जना कालीगढ थिए ।

दीपकका अनुसार पहिले रुसमा झाडी फाँड्न, सिंगापुर र बेलायतमा सुरक्षागार्डका लागि खुकुरीको माग हुन्थ्यो अहिले अन्तर्राष्ट्रिय बजारमा सामान्य गुणस्तरका खुकुरीको माग हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी अमेरिका जाने गरेको उनले बताए । आफ्नो उद्योगबाट हाल मासिक ९० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको उनले सुनाए । ‘पहिला धेरै राम्रो थियो । अहिले बजार खस्किएको छ । विस्तारै राम्रो होला भन्ने आशामा छौं,’ उनले भने ।

उद्योग सञ्चालकहरुका अनुसार खुकुरीको मूल्य गुणस्तर अनुसार फरक हुन्छ । स्थानीय बजारमा सामान्य घरेलु प्रयोजनमा प्रयोग हुने खुकुरी तीन सयदेखि तीन हजारसम्ममा पाइन्छ । पछिल्लो समय नेपालमा भन्दा विदेशमा बढी खुकुरी निर्यात हुन थालेपछि बनावट र गुणस्तरमा परिवर्तन गरिएपछि डिजाइन गरिएको खुकुरीको मूल्य अहिले स्थानीय बजारमा पाँचदेखि सात हजार रुपैयाँसम्म पर्ने गरेको दीपकले जानकारी दिए ।

धरानमा साना ठूला गरी ४० देखि ५० वटा खुकुरी उद्योग सञ्चालनमा छन् । ती उद्योगबाट दैनिक रुपमा तीन सय वटा खुकुरी उत्पादन हुन्छ । सबै उद्योगबाट गरी धरानमा दैनिक सरदर सातदेखि १० लाखसम्म आम्दानी हुने गरेको खुकुरी व्यवसायीको भनाइ छ ।

खुकुरीसँग खुकुरीको दाप बनाउनेले पनि रोजगारी पाएका छन् । धरानमा खुकुरीको दाप बनाउने करिब २५ परिवार छन् । उनीहरुको यसैबाट जीवनयापन हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय