काठमाडौं– कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ ।

तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण भएका र हुने जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न वसन्तपुर–ढुंगेसाँघु २२० केभी डबल प्रसारण लाइन निर्माण गरिएको हो । समुद्र सतहबाट ३ हजार मिटर उचाइसम्म भएर जाने वसन्तपुर–ढुंगेसाँघु २२० प्रसारण लाइनको लम्बाइ ३५ किलोमिटर छ । प्रसारण लाइनका लागि १२७ वटा टावर निर्माण गरिएका छन् । वसन्तपुर–ढुंगेसाँघु प्रसारण लाइनअन्तर्गत नै वसन्तपुर सबस्टेसनमा ६ वटा बे विस्तार भइरहेको छ । त्यसमध्ये ३ वटा बेका उपकरण जडान र परीक्षण कार्य भइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । उक्त कार्य आगामी चैतको पहिलो हप्ताभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वसन्तपुर–ढुंगेसाँघु प्रसारण लाइन निर्माण सम्पन्न भएपछि मुख्य रुपमा सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले ताप्लेजुङमा निर्माण गरिरहेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत् आयोजनाको विद्युत् प्रवाहमा कुनै समस्या नरहेको बताए ।

‘वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइनमा केही हप्ताभित्रमा मध्य तमोरको विद्युत् जोडिने छ, आयोजनाको हाल अन्तिम चरणका परीक्षणका कार्यहरु भइरहेको जानकारी पाएका छौं, आयोजनाको विद्युत् जोड्न वसन्तपुर सबस्टेसनमा बे विस्तारका लागि उपकरण जडान र परीक्षणका कार्यहरु भइरहेका छन्, मध्य तमोरले विद्युत् उत्पादन सुरु गर्ने ब्ेलासम्ममा वसन्तपुर सबस्टेसनमा बे विस्तार सम्पन्न भई विद्युत् प्रवाहका लागि तयार हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘प्रसारण लाइन र सबस्टेसन तयार भयो, तर जलविद्युत् आयोजनाहरु निर्माण हुन नसक्दा २२० केभी लाइन कम क्षमतामा चलाउनुपर्ने अवस्था छ, मध्य तमोरलगायतका जलविद्युत् आयोजनाहरुको बिजुली उक्त लाइनमा जोडिएर इनरुवा सबस्टेसनमार्फत मोरङ र सुनसरी जिल्ला आपूर्ति गरिने हुँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि उत्पादन स्रोत भएको छ जसले गर्दा भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ ।’

कोशी करिडोर प्रसारण लाइन आयोजना प्याकेज–३ अन्तर्गत वसन्तपुर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइन र ढुंगेसाँघुमा १३२÷३३ केभी सबस्टेसन निर्माणका लागि केइसी इन्टरनेसनल, भारतसँग २०७४ माघमा २ करोड ४५ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । उक्त ठेक्का सम्झौता २०७५ जेठबाट कार्यान्वयनमा आएको थियो । प्रसारण लाइन निर्माण सम्पन्न भएको छ भने ढुंगेसाँघु सबस्टेसन निर्माण अन्तिम चरणमा छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा वसन्तपुर–ढुंगेसाँघु प्रसारण लाइन निर्माण गरिएको हो ।

कोशी करिडोर प्रसारण लाइन आयोजना प्याकेज–४ अन्तर्गत वसन्तपुर–ढुंगेसाँघु प्रसारण लाइनको दोस्रो सर्किट निर्माण र वसन्तपुर सबस्टेसनमा बे विस्तार कार्य भइरहेको छ । कुल ३५ किलोमिटरमध्ये प्रसारण लाइनमध्ये हालसम्म १५ किलोमिटर तार तानिएको छ । बे विस्तार कार्य जारी छ ।

यस प्याकेजका काम गर्न नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेडसँग २०७९ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भइरहेको यस प्याकेजका सम्पूर्ण काम आगामी डेढ महिनाभित्रमा सक्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय