नवलपरासी– सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मध्यबिन्दु–३, नवलपरासीमा रहेको फूलबारी सामुदायिक पुस्तकालय तथा सोत केन्द्रको संयोजकत्वमा विपन्न वर्गका महिलाको आर्थिक क्षमता बढाउन निरन्तर रुपमा सीपमूलक सिलाइ कटाइ तालिम सञ्चालन गर्ने उद्दश्यले १० थान सिलाइ मेसिन तथा सोसँग सम्बन्धित सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेसिन सहयोग गरेको जानकारी दिएको छ ।
उक्त संस्थाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा वित्तीय साक्षरता, सीपमूलक प्रविधि शिक्षा, खेलकुद, जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन, खेलकुद तथा साक्षरता कक्षासम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको छ ।
संस्थामा आयोजित कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक ईशवरविकल सापकोटाले मेसिन हस्तान्तरण गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा बोल्दै सापकोटाले उक्त सहयोगले विपन्न वर्गका महिलाको आर्थिक क्षमता वृद्धि गर्न टेवा पुग्ने अपेक्षा लिइएको बताए ।
संस्थाका अध्यक्ष अम्बरबहादुर महतोले विपन्न तथा पिछडिएका महिलाको सीप विकास गरी उनीहरुलाई आर्थिक समुन्नतिको बाटोमा अघि बढाउन सकिन्छ भनेर नै तालिम आयोजना गरिएको र यसमा सूर्यज्योति लाइफले साथ दिएकोमा आभार व्यक्त गरे ।
कार्यक्रममा संस्थाका सचिव, काशीराम पाठक, अन्य पदाधिकारी, रोटरी क्लब नवलपरासीका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, तालिममा सहभागी महिलालगायतको उपस्थिति रहेको बताइएको छ ।









