काठमाडौं– गत माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी वृद्धिदर) ५.०१ प्रतिशत रहेको तथ्यांक केन्द्रीय बैंकले सार्वजनिक गरेको छ । पोहोर माघमा यस्तो महँगी वृद्धिदर ७.८८ प्रतिशत थियो । माघमा खाद्य तथा पेय पदार्थ समूहको महँगी ६.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको महँगी ३.८५ प्रतिशत रहेको केन्द्रीय बैंकको भनाइ छ ।
माघमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.३३ प्रतिशतले घटेको छ ।
सो महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १.४१ प्रतिशतले घटेको छ ।
२०८० माघमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६ प्रतिशत, तराईको ४.७१ प्रतिशत, पहाडको ५.५८ प्रतिशत र हिमालको ५.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.४७ प्रतिशत, ७.८२ प्रतिशत, ७.३० प्रतिशत र ७.९२ प्रतिशत रहेको थियो ।









