काठमाडौं– देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभा यही चैत ३ गते शनिवार काठमाडौंको होटल दुसित प्रिन्सेस लाजिम्पाटमा हुने भएको छ ।

साधारणसभाको उद्घाटन कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गर्ने कार्यक्रम रहेको महासंघका महासचिव अरुण कुमार श्रेष्ठले बताए ।

महाधिवेशन तथा वार्षिक साधारणसभामा देशभरबाट तीन सयभन्दा ढुवानी व्यवसायी तथा प्रतिनिधिको सहभागिता रहने र कार्यक्रमको सम्पूर्ण तयारी अहिले अन्तिम चरणमा पुगेको महासचिव श्रेष्ठले जानकारी दिए।

राष्ट्र निर्माणको आधार ,सुरक्षित ढुवानी समृद्ध व्यापार भन्ने नारालाई आत्मसात गरेर देशभरका ढुवानी व्यवसायीहरुलाई एकीकृत गर्ने र व्यवसायीहरुको समस्याका साथै हकहित संरक्षण गर्ने उद्देश्यका साथ २०६५ सालमा ढुवानी व्यवसायी महासंघ नेपालको स्थापना भएको हो । अहिले महासघमा १८ वटा स्थानीय संस्था आबद्ध रहेका छन् ।

छैठौं महाधिवेशन तथा १५औं वार्षिक साधारणसभाबाट ढुवानी व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्व चयन हुनेछ । नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ ।

छैठौं महाधिवेशन तथा १५औं वार्षिक साधारणसभामा देशभरबाट ढुवानी व्यवसायीका साथै अन्य संघसस्थाका प्रतिनिधि उद्योगी व्यवसायीको सहभागिता रहने महासंघले जनाएको छ। साथै वार्षिक साधारणसभामा ढुवानी व्यवसायी महासंघ र गण्डकी विश्वविद्यालयबीच ढुवानी क्षेत्रको सम्भावना समस्या र समस्या समाधानका लागि अध्ययनका गर्ने सम्झौतापत्रमा हस्ताक्षर पनि हुने महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर