गल्याङ (स्याङ्जा)– स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौंसामा एउटै परिवारले ३५ लाख रुपैयाँको सुन्तला उत्पादन गरेर बिक्री गरेको छ । स्थानीय किसान देवीप्रसाद भण्डारीले आफ्ना छोराहरूले यस वर्ष ३५ लाख रुपैयाँको सुन्तला उत्पादन गरेर बिक्री गरेको बताए ।
उनले करिब एक हजार सुन्तलाको बोट हुर्काएर छोराहरूलाई हस्तान्तरण गरेको बताए । ८२ वर्षीय भण्डारीले करिब ४० वर्षदेखि सुन्तला खेती गर्दै हो । ‘चिन्दै नचिनेका मान्छेहरू स्याङ्जाबाट आएर यहाँ सुन्तला हुन्छ भनेर हौसला दिनुभयो,’ देवीप्रसादले सम्झिए, ‘पहिला परम्परागतरूपमा लगायौं । २० वर्षदेखि व्यावसायिक सुन्तला खेती गर्दै आएका छौं ।’ उनका छोराहरुको बगैंचामा तीन हजार सुन्तलाका बोट छन् ।
देवीप्रसादका ६ भाइ छोरामध्ये तीन भाइले सुन्तलाखेती गर्दै आएका छन् । भण्डारीको काइँलो छोरा ताराप्रसादले यस वर्ष २० लाखको सुन्तला उत्पादन गरेर विक्री गरे । उनले पोहोर १६ लाखको सुन्तला उत्पादन गरेका थिए । यस वर्ष जेठो छोरा डोलराज भण्डारीले १० लाख र साइँलो छोरा कमलले ५ लाखको सुन्तला उत्पादन गरेर विक्री गरे ।
तीन वर्षपहिले सिम्रन कृषि तथा पशुपालन फार्म दर्ता गरेरै सुन्तलाखेतीलाई व्यवस्थित गरेको ताराप्रसादका छोरा कविराजले बताए । उनको बगैंचामा उत्पादन दिने सुन्तलाका बोट एक हजार छन् । बिरुवा र उत्पादन दिने तयारीका करिब एक हजार बोट छन् । एक हजार बोट नयाँ बिरुवा लगाउन खाल्डा तयारी अवस्थामा रहेको कविराजले बताए ।
यहाँ उत्पादित सुन्तला काठमाडौं, बुटवल, पोखरा, कावासोती, इटहरी, धादिङ, इनरुवालगायत जिल्लामा निर्यात हुने गरेको छ । ठेकेदारहरू गाडी नै लिएर सुन्तला किन्न आउँछन् । यहाँका किसानले पनि ‘ग्रेडिङ’ गरिएको सुन्तला किलोको ६० देखि एक सय २० रुपैयाँसम्ममा ठेकेदारलाई थोक मूल्यमा बिक्री गर्छन् ।
किसान ताराप्रसादले सिँचाइको चरम अभावका कारण यहाँको माटो र हावापानीअनुसार सुन्तला उत्पादन नभएको गुनासो गरे । ‘सिँचाइ सुविधा भए ५० प्रतिशतले उत्पादन बढाउन सकिन्थ्यो,’ उनले भने, ‘जिल्लामै सिरौंसा सुन्तला उत्पादनका लागि प्रख्यात भए पनि सरकारी निकायबाट त्यति राम्रो सहयोग पाएका छैनौं ।’ ताराप्रसादले सिँचाइ, बिरुवा, उपचार, अनुदान, बजारीकरण, परामर्शलगायत सहयोग पाए आफूहरूलाई ठूलो राहत मिल्ने बताए ।
सुन्तला पकेट सञ्चालक समिति सिरौंसाका अध्यक्ष रामप्रसाद भण्डारीले सिरौंसाबाट अघिल्लो वर्ष साढे दुई करोडको सुन्तला विक्री भएको बताए । उनले अघिल्लो वर्ष सुन्तला पकेट क्षेत्रमा आबद्ध ६० जना किसानले दुई करोड ५० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको दाबी गरे ।









