बेनी (म्याग्दी)– म्याग्दीको रघुगंगा गाउँपालिका–६, ठाडाखानीका छन्त्याल समुदाय आफ्नो वेशभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा भेडाको ऊनबाट बनाउने हाब्दुल, काम्लो, स्विटर, टोपीलगायत मौलिक पोसाक लोपोन्मुख अवस्थामा पुगेपछि ती समुदाय संरक्षणमा लागेका हुन् ।
पुर्खाले भेडापालन गर्ने र भेडाको ऊनबाट कपडा बनाउने पेसा अँगालेकामा पछिल्लो समय ऊनबाट बनेका कपडा हराएर जान थालेपछि गाउँमा सबैले ऊनका कपडा लगाउने अभियान चलाएको स्थानीय यामबहादुर छन्त्यालले बताए। ‘परम्परागत भेडा बाख्रापालनलाई हामीले निरन्तरता दिँदै आएका छौं, तर भेडाबाख्राको ऊनबाट बनाइने हाब्दुलो, काम्लोलगायत लोप हुन लागेका छन्, हामीले पुर्ख्यौली नमासौं भनेर अग्रसरता दिएका हौं,’ उनले भने ।
भेडाबाख्रा पाल्दै आएका छन्त्यालले गाउँमा अहिले ऊनबाट बनेका कपडा लगाउने लहर नै चलेको बताए। घरायसी काम, गोठ बस्दा र सार्वजनिक कार्यक्रममा ऊनबाट बुनेर बनाइएका हाब्दुलोको प्रयोग हुने थालेको छ । भेडाबाख्राको ऊन खेर जान नदिन र ऊनबाट कपडा बुन्ने पेसा हराएर जान नदिन युवाको अग्रसरतामा परम्परागत पोसाक बनाउने र लगाउन थालिएको छ ।
ठाडाखानीमा अहिले पनि भेडा बाख्रापालन हुँदै आएको छ । यहाँका स्थानीयले करिब एक हजार ५०० को हाराहारीमा भेडाबाख्रा पालेका छन् । भेडाबाख्राको ऊन काढेर उनलाई प्रशोधन गरेर धागो बनाएपछि तानमा बुनेर कपडा बनाउने गरिन्छ ।
ऊनबाट कपडा बनाउने पेसा संकट पर्दै गएपछि यहाँका स्थानीयले अभियानकै रुपमा ऊनका कपडा लगाउन थालेका हुन् । ऊनबाट बनेका कपडा न्यानो हुने र धेरै वर्ष टिकाउ हुने भएकाले गोठमा बस्नेले अधिक मात्रामा प्रयोग गर्ने चलन रहेको छ ।
भेडाबाख्राको ऊनलाई प्रशोधन गरेर चर्खाबाट धागो बनाई, तानमा बुनेर हाब्दुल, काम्लो, टोपी, स्विटरलगायत बनाउने गरिन्छ ।
परम्परागत पोसाक सँगसँगै पुर्ख्यौली पेसाको रुपमा रहेको खानी खन्ने र घरायसी काममा प्रयोग गरिने कोर्को, डोको थुन्सेलगायत सामानलाई समेत जगेर्ना गर्न थालिएको स्थानीय जीतबहादुर छन्त्यालले बताए। पुर्खाले सिर्जना गरेका पहिचानलाई जोगाएर नयाँ पुस्तामा हस्तान्तरण गर्न स्थानीयले अग्रसरता देखाएको उनको भनाइ छ ।
छन्त्याल समुदायको बसोबास रहेको ठाडाखानीका बासिन्दाले वेशभूषा, पेसा र सीपसँगै भाषा, संस्कृतिलाई समेत जगेर्ना गरेका छन् । स्थानीयस्तरमा छन्त्याल खाम भाषालाई बोलीचालीको प्रचलनमा ल्याएका छन् भने पुर्ख्यौली सोरठी, मादले मारुनीलगायत नाचलाई समेत जीवन्त राखेका छन् । गाउँमा हुने सार्वजनिक कार्यक्रम र बाहिरबाट आउने अतिथिको स्वागतमा मौलिक नाचले स्वागत गर्ने गरिएको रघुगंगा गाउँपालिका–६ का वडा सदस्य टेकजित छन्त्यालले जानकारी दिए ।
‘परम्परा मासिन नदिन हामीले अग्रसरता लिएका छौं, युवापुस्ता समेत आफ्ना पुर्खाका कला, संस्कृति, परम्परा र पेसाको जगेर्ना गर्न लागिपरेका छन्, यसले छन्त्याल समुदायको कला, संस्कृति र जनजीवनलाई नयाँ पुस्तामा सीप र संस्कार हस्तान्तरणमा सहयोग पुग्ने हामीले विश्वास लिएका छौं,’ वडासदस्य छन्त्यालले भने। वडा कार्यालयले समेत मौलिक वेशभूषा, कला संस्कृति र परम्पराको जगेर्ना गर्न स्थानीय आमा समूहलाई पोसाक उपलब्ध गराएको छ ।









