काठमाडौं– ढुवानी व्यवसायी महासंघ नेपालको छैटौं महाधिवेशन तथा १५औं वार्षिक साधारणसभामा नेपालमा ढुवानी व्यवसायको जग बसाउने सरदार प्रितम सिंहलाई ‘ट्रान्सपोर्ट किङ’को रुपमा सम्मान गरिएको छ ।
गत आइतबार माधवप्रसाद नेपालको नेतृत्वमा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै काठमाडौंमा सम्पन्न व्यवसायी महासंघ नेपालको छैटौं महाधिवेशन तथा १५औं वार्षिक साधारणसभामा सिंहलाई सम्मान गरिएको हो ।
नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै मुलुकको सडक पूर्वाधार सुरूवाती विकाससँगै २०१४ सालमा त्रिभुवन राजपथ हुँदै काठमाडौंसम्म मालबाहक सवारी साधनको रूपमा पहिलो मालबाहक ट्रक प्रवेश गराउने कार्य सरदार सिंहले गरेका थिए । त्यसको लगत्तै उनले थप आवश्यकताको महसुस गरी २०१५ सालमा थप ३ वटा ट्रक नेपाल ल्याएका थिए ।
ढुवानीको महत्त्व प्रस्टिसकेको अवस्थामा २०१५ सालमा नेपालमा खाद्यान्न संकट हुँदा नेपाली नागरिकको जनजीवनलाई सहजीकरण गर्ने प्रमुख उद्देश्यले नेपाल पब्लिक मोटर्स सर्भिस (एनपीएमएस) विधिवत् रूपमा दर्ता कायम गरी नेपालमा एकैपटक १५० वटा ट्रकहरू सरकारी पहलमा नेपाल ल्याउँदा सरदार सिंहले प्रमुख भूमिका खेलेका थिए ।
इतिहासको यही अध्यायले ढुवानीले व्यवसायको रुप लिँदा अहिले राष्ट्र निर्माणमा नै गर्व लाग्दो भूमिका खेल्न सफल भएको भन्दै सरदार सिंहको योगदानको कदर गरिएको ढुवानी व्यवसायी महासंघले जनाएको छ ।
सो अवसरमा सरदार प्रितम सिंहलाई सम्मान गर्न पाउँदा सिंगो महासंघ परिवारले गौरवको अनुभूति गरेको महासंघका नवनिर्वाचित उपाध्यक्ष अरुण श्रेष्ठले बताए।
महाधिवेशन तथा वार्षिक साधारणसभाकै अवसरमा नेपालमा सुरक्षित ढुवानीको उपाय खोज्दै ढुवानी क्षेत्रका समस्या, सम्भावना र चुनौतीहरुको सुक्ष्म अध्ययन गर्ने उद्देश्यका साथ गण्डकी विश्वविद्यालय र ढुवानी व्यवसायी महासंघबीच सम्झौता समेत भएको छ । सम्झौतापत्रमा महासंघको तर्फबाट निवर्तमान अध्यक्ष विश्वनाथ खनाल र विश्व विद्यालयको तर्फबाट रजिस्ट्रार डाक्टर कैलाश तिमिल्सिनाले हस्तान्तरण गरेका थिए ।









