काठमाडौं– भारतको सबैभन्दा ठूलो आतिथ्य कम्पनी इन्डियन होटल्स कम्पनी लिमिटेड (आईएचसीएल)ले चितवनको भरतपुरमा भिभान्ता चितवन सञ्चालन गर्ने घोषणा गरेको छ । भिभान्ता चितवन नेपाली संस्कृति र विलासिताको संगमका रुपमा स्थापित हुने आईएचसिएलले जनाएको छ ।
भिभान्ता चितवनमा विस्तार भएको अवसरमा आईएचसीएल, न्यु बिजनेस एन्ड होटल्स ओपनिङ्सका उपाध्यक्ष दीपिका रावले नेपालमा आईएचसीएलको तेस्रो होटेलका रुपमा भिभान्ता चितवन विस्तार हुनु कम्पनीका लागि अर्को एक महत्त्वपूर्ण उपलब्धि रहेको बताइन् । ‘देशको प्रमुख सहरी केन्द्रमध्येको एक भरतपुर चितवन राष्ट्रिय निकुञ्ज र लुम्बिनी जस्ता विश्व सम्पदाहरूको प्रवेशद्वार हो । भिभान्ता चितवन आईएचसीएल र चौधरी गु्रपबीचको २५ वर्षदेखिको सुमधुर सम्बन्धको प्रमाण हो । यस अवधीमा आईएचसीएल र सीजीले ५ देशका ११ होटलमा सहकार्य गरिरहेका छन्,’ उनले भनिन् ।
भिभान्ता चितवनले आफ्नो बेग्लै शैली र भावना प्रस्तुत गरेको आईएचसीएलको विज्ञप्तिमा उल्लेख छ । उक्त होटलमा अतिथिहरूको सम्मानमा विशेष ध्यानपूर्वक निर्माण गरिएका ४५ रूम छन् । यी प्रत्येक रूमहरू सुन्दर ढंगले सुसज्जित छन् ।
भिभान्ताका सुइटमार्फत पाहुनाले सुन्दर देवचुली र प्रकृतिकोे लोभलाग्दो दृष्य हेर्न सक्ने बताइएको छ । साथै, पाहुनाले होटलको मिन्टमा डिनर सहित विभिन्न खानाको स्वाद लिन सक्ने बताइएको छ । ‘होटलको बार ‘विंक’मा आरामका साथै भरपुर मनोरञ्जनको स्वाद पाउनेछन्,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, वेलनेस र मनोरञ्जनका लागि उक्र होटलमा अत्याधुनिक फिटनेस सेन्टरका साथै स्विमिङ पुल रहेको छ जहाँबाट मनोरम सिराइचुली माउन्टेनको दृश्य देख्न सकिन्छ । यस होटलमा २४०० वर्ग फुटको सभाहल छ । र, बिजनेस सेन्टर समेत रहेका छन् ।
नारायणी नदीको किनारमा अवस्थित भरतपुर नेपालको एक प्रमुख व्यावसायिक केन्द्रको रूपमा परिचित छ । ऐतिहासिक र पवित्र धार्मिक स्थलहरूदेखि प्राकृतिक परिदृश्यसम्मका विविध अनुभव दिने यस क्षेत्रले पर्यटकहरूलाई आकर्षित गरिरहेको छ ।
यस अवसरमा बोल्दै सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले सीजीले विकास गरेको होटलमा ताजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । ‘भिभान्ता चितवन थपिएपछि पाहुनाहरूले चितवन राष्ट्रिय निकुञ्जमा ताज सफारी जंगल रिसोर्ट, काठमाडौं र भरतपुरमा भिभान्ता मार्फत आईएचसीएलको आतिथ्यताको अनुभव लिन सक्नुहुनेछ,’ चौधरीले भने ।
इन्डियन सब कन्टिनेन्ट र मिडल इस्टमा चौधरी गु्रप र आईएचसीएलबीचको सहकार्यमा माल्दिभ्समा ताज एक्सोटिका रिसोर्ट एन्ड स्पा र ताज कोरल रिफ रिसोर्ट एन्ड स्पा, श्रीलंकामा ताज कोलम्बो, दुबईमा ताज जुमेराह लेक टावर्स, भारतमा ताज सफारी र नेपालमा मेघौली सेराई सञ्चालनमा छन् ।
दुई दशकभन्दा बढी गौरवपूर्ण इतिहास बोकेको सीजी हस्पिटालिटी ग्लोबलले टाटा समूहको आईएचसीएलसँग ताज एक्सोटिका रिसोर्ट एन्ड स्पा र माल्दिभ्सको ताज कोरल रिफ र कोलम्बोको ताज समुद्रमा लगानी गरेर आफ्नो आतिथ्य सत्कार व्यवसाय सुरु गरेको थियो । यो साझेदारी आज ५ देशका ११ होटलहरूमा विस्तार भइसकेको छ ।
सीजी हस्पिटालिटीका अन्य साझेदारहरूमा अग्रणी होटल ब्रान्डहरू जस्तै भारतमा फर्न होटल्स, श्रीलंकामा जेटविङ एन्ड सिलोन होटल्स ग्रुप, न्युयोर्कमा ¥याडिसन, केन्यामा फेयरमन्ट होटल रहेका छन् । सीजी हस्पिटालिटीसँग वेलनेस रिट्रिट, द फार्म इन फिलिपिन्स, जिंक, फर्न र बिकन जस्ता आफ्नै होटल ब्रान्डहरू पनि रहेका छन् । आज सीजी हस्पिटालिटीको पोर्टफोलियो १२ देशका ११४ गन्तव्यमा १० हजार भन्दा बढी रुम क्षमताका साथ १७८ भन्दा बढी होटल र रिसोर्टहरू छन् ।
आईएचसीएल भारतको सबैभन्दा ठूलो आतिथ्य कम्पनी हो । प्रतिष्ठित आतिथ्य ब्रान्डहरु जस्तै ताज, भिभान्ता, सेलेक्युसन तथा जिन्जरमार्फत आईएचसीएलले विश्वस्तरीय सेवा दिइरहेको छ । आईएचसीएलले आफ्नो पहिलो होटल दि ताज महल प्यालेस सन् १९०३ मा मुम्बईमा खोलेको थियो । हाल आईएचसीएलसँग १३ देशहरुका १०० भन्दा बढी स्थानमा ३०६ होटेलहरूको पोर्टफोलियो रहेको छ ।









