काठमाडौं– राजस्व अनुसन्धान विभागले राजस्व छलीको आरोपमा हालसम्मबै बढी मागदाबी गर्दै मुद्दा दायर गरेको छ । विभागले १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागले कोटिभिटी नेपाल प्रालिविरुद्ध ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ बिगो र त्यत्ति नै जरिवाना दाबी गर्दै मुद्दा दायर गरेको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।
विभागका अनुसार एउटा कम्पनीसँग यति ठूलो रकम मागदाबी गरेर मुद्दा दायर गरिएको पहिलोपटक हो ।

उक्त कम्पनीले स्वामित्व परिवर्तनका बेला सरकारी निकायलाई जानकारी नदिई आयकर ऐन २०५५ र मूल्य अभिवृद्धिकर ऐन २०५२ बमोजिम कर राजस्वसमेत दाखिला नगरी राजस्व चुहावट गरेको विभागले जनाएको छ ।

कोटिभिटी नेपाल प्रालि पूर्ण वैदेशिक लगानीमा स्थापना भएको सूचना प्रविधि कम्पनी हो । उक्त कम्पनीले नेपालबाट सफ्टवेयर निर्यात गर्छ । अमेरिकी लगानी रहेको यो कम्पनीको सम्पूर्ण स्वामित्व कोटिभिटी इन्कमा छ ।

आफूमा निहित रहेको शेयर स्वामित्व परिवर्तन र त्यसबाट कम्पनीको नियन्त्रण परिवर्तन भएको विषय सम्बद्ध निकायमा जानकारी नदिई त्यसबमोजिम सृजना हुने कर दायित्व पूरा नगरेको विभागको दाबी छ ।

उक्त कम्पनीले निर्यातमा भ्याट छूट नपाउने वस्तु तथा सेवामा पनि भ्याट छूट लिएको विभागको भनाइ छ । भ्याट नतिरीकनै फिर्ता लिएको पनि महानिर्देशक ढुंगानाले बताए । भ्याट फिर्ता मात्र करीब ५५ करोड रुपैयाँ लिएको देखिएको ढुंगानाले बताए । सोही कारण सजायसहित बिगो र जरिवाना गरी साढे १० अर्ब रुपैयाँ बराबर भएको विभागको भनाइ छ

प्रतिक्रिया

सम्बन्धित खवर