काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । यस समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारीरूपमा कार्यान्वयन गर्न सक्नेछ ।
यस समझदारीले वातावरणमैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवर्द्धन गर्न थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसले ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।
ग्लोबल आइएमई बैंकले ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा दिइरहेको पनि विज्ञप्तिमा उल्लेख छ । यसले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत मुलुकबाट रेमिट्यान्स भित्र्याइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।









