झापा– नेपालले एक दशकयता बंगलादेशसँगको व्यापारमा लगातार घाटा बेहोरिरहेको छ । आर्थिक वर्ष २०८०–८१ को चालु आठ महिनामै २ अर्ब ४३ करोड ८ लाख ९० हजार व्यापार घाटा रहेको मेची भन्सार कार्यालयले जनाएको छ ।
नेपाल र बंगलादेशबीच व्यापारका लागि सबैभन्दा छोटो र सहज मार्गका रुपमा पूर्वी नाका काँकरभिट्टाबाट भारतको फूलबारी हुँदै बंगलादेशको बंगलाबन्ध सुक्खा बन्दरगाह छिचोल्ने ५२ किलोमिटरको पारवहनमार्ग प्रयोग हुँदै आएको छ । नेपाल, भारत र बङ्गलादेशबीचको त्रिदेशीय समझदारीअनुसार भूपरिवेष्ठित मुलुक भएकाले नेपालले यो सोझो पारवहनमार्ग पाएको हो । त्रिभुवन विमानस्थलको हवाई मार्गमार्फत हुने व्यापारको अंश निकै कम छ ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७१–७२ यता नेपालले बंगलादेशसँगको व्यापार कुनै पनि वर्ष सन्तुलनमा ल्याउन सकेको छैन ।
चालू आवको आठ महिनामा बंगलादेशबाट २ अर्ब ५९ करोड ६५ लाख ३१ हजार मूल्य बराबरको मालसामान आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ । सोही अवधिमा बंगलादेशतर्फ १६ करोड ५६ लाख ४२ हजार मूल्य बराबरको सामान निर्यात भएको छ ।
बंगलादेशसँग आव २०७९–८० मा ५ अर्ब १८ करोड ९ लाख १३ हजार, आव २०७८–७९ मा १० अर्ब ३८ करोड ३० लाख ३५ हजार, आव २०७७–७८ मा ६ अर्ब ५४ करोड ७४ लाख १ हजार, आव २०७६–७७ मा ४ अर्ब २४ लाख आठ हजार, आव २०७५–७६ मा २ अर्ब ४४ करोड ५० लाख ३७ हजार र आव २०७४–७५ मा ४५ करोड ५५ लाख ६५ हजार व्यापार घाटा भएको भन्सारको तथ्यांक छ ।
यसैगरी, आव २०७३–७४ मा २ अर्ब ८६ करोड ८९ लाख ८१ हजार र आव २०७१–७२ मा १ अर्ब ४० करोड ९७ लाख १३ हजार व्यापार घाटा भएको छ । त्यसअघिका चार वर्ष बंगलादेशसँगको व्यापारमा नाफामा रहेको देखिन्छ ।
आव २०७०–७१ मा आयातको तुलनामा ६० करोड ७७ लाख १२ हजार मूल्य बराबरको सामान बंगलादेश निर्यात भएको थियो । उक्त आवमा बङ्गलादेशबाट रु एक अर्ब ४८ करोड ९० लाख ४२ हजार मूल्य बराबरको मालसमान आयात भएको थियो भने नेपालबाट रु दुई अर्ब ९ करोड ६७ लाख ५४ हजार मूल्य बराबरको सामान बंगलादेश निर्यात भएको थियो ।
यसैगरी, आव २०६९–७० मा ५८ करोठ २७ लाख ४९ हजार, आव २०६८–६९ मा १ अर्ब १४ करोड ९० लाख ११ हजार र आव २०६७–६८ मा २ अर्ब ३९ करोड ६९ लाख ११ हजार व्यापार नाफा भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले बंगलादेशमा नेपाली उत्पादन निर्यात गर्ने विषयमा सरकारले चासो बढाउनुपर्ने धारणा राखे । चार वर्षदेखि पूर्वीनाका (स्थलमार्ग)बाट बंगलादेशी पर्यटक आगमनमा भारतीय पक्षको नीतिगत अवरोध भइरहेको जनाउँदै उनले पर्यटक आगमनको वातावरण बनाउन सके व्यापारमासमेत चलहपहल बढ्ने बताए ।
‘कोभिडदेखि काँकरभिठ्ठाबाट बंगलादेशी पर्यटक आउन ठप्प भइरहेको छ,’ उनले भने, ‘नेपाली अलैंची, अदुवा, इस्कुस, किबी जस्ता कृषि उपजको बंगलादेशमा ठूलो माग छ । निर्यात कसरी गर्ने भन्ने बारेमा नेपाली पक्षले छलफल नै चलाएको छैन ।’









