काठमाडौं– गत फागुन मसान्तसम्म मुलुकभित्र विदेशी मुद्रा सञ्चिति १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर थियो ।

गत फागुन मसान्तमा आइपुग्दा उक्त सञ्चिति २१.७ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा गत फागुन मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा गत फागुन मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ६ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा गत फागुन मसान्तमा १८.२ प्रतिशतले वृद्घि भई २ खर्ब २८ अर्ब ७६ करोड कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार गत फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत छ । चालु आर्थिक वर्षको आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.७ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय