काठमाडौं– सुनको मूल्य आइतबार प्रतितोला २९०० रुपैयाँले बढेको छ । केही समययता लगातार उकालो लागिरहेको सुनको भाउले आइतबार पनि वृद्धिको बाटो पछ्याएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ तोकेको छ । शुक्रबार यसको मूल्य १ लाख ३२ हजार ७०० रुपैयाँ थियो ।
आइतबार तेजाबी सुनको मूल्य पनि प्रतितोला २९०० रुपैयाँले १ लाख ३४ हजार ९५० कायम भएको छ । शुक्रबार तेजाबी सुन १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि उकालो लागेको छ । महासंघका अनुसार आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ६७० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ६१५ रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य आइतबार १.७९ प्रतिशतले बढेर प्रतिऔंस २३२९ दशमलव ९३ अमेरिकी डलर पुगेको छ । सुन बजारका विज्ञहरुले यसको प्रतितोला मूल्य दुई लाख नेपाली रुपैयाँसम्म पुग्ने बताइरहेका छन् ।









