काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को समानान्तर संस्था खुल्ने भएको छ । एनआरएनएमा महासचिव निर्वाचित व्यवसायी गौरीराज जोशीले विदेशमा व्यापार, व्यवसाय गरिरहेका गैरआवासीय नेपाली समेट्ने गरी गैरआवासीय नेपाली व्यवसायी संघ (एनआरएन बिजनेस एसोसिएसन) नामक संस्था सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।
जोशी अमेरिकाको टेक्सासमा व्यवसाय गर्छन् । सर्वाेच्च अदालतको केही दिनअघिको फैसलाले कुमार पन्तको नेतृत्वपछि बनेका गैरआवासीय नेपाली संघका सबै कार्यसमिति खारेज गरेको थियो । सर्वाेच्चले ६ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएको छ ।
नयाँ संस्था सञ्चालनको तयारीमा जुटेका जोशीले एनआरएनएभित्र चरम राजनीति हावी भएको बताउँदै अब यो संस्थाको औचित्य नहरेको समेत दाबी गरे ।
‘अब यस्ता संस्थामा लागेर बस्नु भनेको समय बर्बाद गर्नुमात्र हो। आफू–आफूबीच इगो पालेर केही हुँदैन । एनआरएनएको औचित्य शून्य भइसक्यो । यहाँ झगडा गर्दै बस्नुको कुनै अर्थ छैन,’ उनले भने ।
पूर्वअध्यक्षहरूको जुँगाको लडाईंले एनआरएनए अभियान सखाप भएको उनको आरोप छ । ‘मिल्ने बेला नमिल्ने, आफू–आफूहरूबीच इगो लिने, अहिले कसरी मिल्छ त ? मिलेर ६ महिनाभित्र संस्था एक हुन्छ भन्नु असम्भव छ । कोही पनि भ्रममा नपरे हुन्छ,’ उनले भने ।
जोशीले पछिल्लो समयमा विदेशमा नेपाली व्यवसायीको संख्या बढ्दै गएको बताउँदै उनीहरूलाई समेट्न एउटा संस्था आवश्यक रहेको बताए ।
‘यो संस्था राजनीति गर्ने थलो हुँदैन । व्यापार–व्यवसायलाई मात्र केन्द्रित गरेर सञ्चालन हुन्छ । युवा पुस्ता र विदेशमा हुर्किरहेको पुस्तालाई समेट्ने तार्गेट हो,’ उनले भने ।









