महेन्द्रनगर (कञ्चनपुर)– सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारीचालक भारतीय नागरिकको मृत्यु भएको छ ।
बेतालघाट पुलिस थानाका सब–इन्सपेक्टर अनिस अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी, तिलक चौधरी, उदयराम चौधरी र गोपाल बस्नेत छन् । मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरु नेपालको साविक भेरी अञ्चल, बबईका भएको बेतालघाट पुलिस थानाले जनाएको छ ।
घटनास्थल वरपर नेपालीहरु सडक छेउमा पाइप बिछ्याउने काम गर्थे । उनीहरु गाडी भाडामा लिएर टनकपुर आउने तयारीमा सामान लोड गर्दागर्दै सवारी सडकबाट तल झरेको अन्सारीले बताए ।
‘काम गर्ने ठाउँ नजिकै दुर्घटना हुँदा सात नेपालीसहित स्थानीय चालकले ज्यान गुमाए,’ उनले भने, ‘उनीहरुको शव नैनीताल सरकारी अस्पतालमा राखिएको छ ।’ दुर्घटनामा परी धीरज चौधरीको श्रीमती शान्ति चौधरी र जनक चौधरी घाइते भएको उनले जानकारी दिए ।
गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनाको उद्धारमा राति प्रहरीलगायत ‘स्टेट डिजास्टर रेस्पोन्स टिम’समेत खटिएको सब–इन्सपेक्टर अन्सारीले जानकारी दिए ।









